पुरचौडी नगरपालिका–३ घर भई न्वादेउ स्वास्थ्य चौकी अन्तर्गत नाकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत अनमी २५ वर्षीया जानकी भट्टलाई साउन २५ गते साँझ हातपात तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २१ वर्षीय विरेन्द्र कुँवर र २४ वर्षीय मोहन कुँवरलाई साउन २६ गते गिरफ्तार गरेको छ ।
पुरचौडी नगरपालिका–३ की ८० वर्षीया रत्ना पन्त कान कम सुन्ने भएकोले ठुलो स्वारले बोलेर स्लाइन दिइरहेको अवस्थामा बोल्ने तरिका यही हो भन्दै द्वय कुँवरले स्वास्थ्यकर्मी भट्टमाथि हातपात र दुर्व्यवहार गरेको न्वादेउ स्वास्थ्य चौकीका प्रमुख गणेश धानुकले इन्सेक प्रतिनिधसँग फोनबाट बताउनु भयो ।
स्वास्थ्यकर्मी भट्टसँगै रहनु भएकी कार्यालय सहयोगी विमला कुँवरमाथि पनि आरोपितद्वय कुँवरले दुर्व्यवहार गरेको स्वास्थ्य चौकी प्रमुख धानुकले बताउनु भयो ।
पीडित महिलाले साउन २६ गते आरोपितद्वय कुँवरविरुद्ध पुरघाट प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।