INSEC Online

📅 २०८३ जेष्ठ २१

बाँदरमुढे घटनाको १५ वर्षसम्म सत्य स्थापित नहुँदा न्याय ओझेलमा

तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको १५ वर्ष बितिसक्दा पनि सत्य स्थापित हुन सकेको छैन ।

सत्य स्थापित नहुँदा पीडित र पीडितका परिवारको न्याय प्राप्तिसमेत ओझेलमा परेको छ ।

घटनालगत्तै ०६२ जेठ २३ गते नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने उल्लेख गरिएको थियो ।

त्यस यता उक्त विज्ञप्तिका हस्ताक्षरकर्ता दाहाल दुईपटक र उक्त पार्टीका नेता डा. बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री हुँदा पनि यो विषयले प्राथमिकता पाउन सकेन ।

विस्तृत शान्ति सम्झौतालगायत अन्य राजनीतिक सहमतिहरूमा बाँदरमुढेलगायत घटनाका द्वन्द्व पीडितहरूको न्यायका सम्बन्धमा चर्चा गरिएको भए पनि न्याय र परिपूरणबिना १५ वर्ष बित्थामा बिते ।

बाँदरमुढे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ साल जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो ।

उक्त घटनामा परी ७२ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये चार जनाको घटनाको केही समयपछि मृत्यु भएको थियो । यसरी घटनामा मृत्यु हुनेको सङ्ख्या ४२ रहेको छ ।

अन्य

भिडियो