INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पश्चात हत्या गरेको आरोपमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेको भन्दै  देवदह नपा–११ का  २५ वर्षीय कोइला भनिने विरेन्द्र भर, विरेन्द्रकी आमा ५० वर्षीया अकाली भर र ५५ वर्षीया सितली भर विरूद्ध पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको छ ।

आरोपित विरेन्द्र भरले बालिकालाई जेठ ९ गते साँझ गाउँ नजिकैको खर्यानमा लगेर बलात्कार गरेको र गाउँलेहरूले देखेपछि समातेर जेठ १० गते बिहान देवदह नपा–११ का वडा अध्यक्ष अमर बहादुर चौधरी सहित गाउँलेको समूहले पीडित बालिकालाई आरोपित भरको जिम्मा लगाएको पीडित परिवारको आरोप लगाएका छन् ।

बलात्कार घटनाबाट जोगिन बालिकालाई जेठ १० गते आरोपित भरले बालिकालाई आफ्नो घरमा लगेर गएका थिए ।

घरमा लगेपछि विरेन्द्रको आमा र ठुली आमाले हाम्रो जात नमिल्ने र घरमा पस्न दिदैनौ भन्दै  कुटपिट तथा लछार पछार गरेपछि विरेन्द्रले देवदह नपा–२ पेटवनियामा रहेको अर्को घर लिएर गएको स्थानीय प्रत्यक्षदर्शी अमन खत्रीले बताउनु भयो ।

जेठ ११ गते बिहान देवदह नपा–२ पेटवनियाको घरदेखि पश्चिम तर्फ रहेको रोहिणी खोलाको छेउमा रहेको भेलोरको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृतकको शरिरमा लगाएको माथिल्लो बस्त्र दुई तीन ठाउँमा च्यातिएको, शरिरमा निलडामहरू देखिएको र  आरोपित विरेन्द्र भरले लगाएको चाँदीको सिक्री मृतकको भित्री बस्त्र अडकिएको अवस्थामा फेला परेको पीडित पक्षलले बताएका छन् । छोरीले आत्महत्या गरी मर्नुपर्ने कुनै कारण अवस्था नरहेकोले मारेर झुण्डाइएको मृतककी आमाले बताउनु भयो ।

मृतकका बुवाको १० वर्ष अघि मृत्यु भएको र एकल महिला भएकोले समाज बसेर उमेर नै नपुगेकी छोरीलाई अर्काको जिम्मा लगाउनु समाजको गल्ती भएको पीडितकी आमाले बताउनु भयो । आफुहरू दलित समुदायको भएका कारण आफ्नो छोरीको हत्या गरेको बताउँदै दोषीलाई कडा कारवाही हुनु पर्ने मृतककी आमाको माग रहेको छ । वडा अध्यक्ष लगायतका  समाजका व्यक्तिले यसरी बालिकालाई जबरजस्ती हात समाएर पठाएकोले अनाहकमा  ज्यान गुमाउनु परेको स्थानीयको आरोप छ ।

देवदह नपा– ११ का वडा अध्यक्ष अमरबहादुर चौधरीले घटनाका सम्बन्धमा  आफु व्यस्तताका कारण समाजले राखेको बैठकमा पुरा समय नबसेको र मैले  केटीलाई केटाको जिम्मा लगाएको भन्ने पीडित पक्षको आरोपमा सत्यता नभएको बताउनु भयो ।

मृतकका परिवारले घटनाका विषयमा जेठ १२ गते किटानी सहितको उजुरी दिँदा प्रहरीले नलिएपछि अधिकारकर्मीहरूको पहल र दवावमा जेठ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता भएको मृतककी आमाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका  डिएसपी खडकबहादुर खत्रीले उजुरी दर्ता गरिसकेको र घटनाका आरोपितहरू फरार रहेको बताउनु भयो । घटनाका विषयमा सुक्ष्म अनुसन्धान र आरोपितहरूको खोजीकार्य भइरहेको डिएसपी खत्रीले बताउनु भयो ।  उहाँले पीडित परिवारलाई न्यायका लागि प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

शवको पोष्टमार्टम जेठ १३ गते लुम्विनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको र शव परीवारलाई बुझाइएको प्रहरीले जनायो ।

नेपालको कानुन अनुसार २० वर्ष उमेर पुग्नु पर्ने हुन्छ । मृतको उमेर १३ बर्ष (१२ वर्ष दुइ महिना १०)मात्रै छ । यसकारण यो सोझै बाल विवाह हुन आउँछ । कानुन अनुसार बाल विवाह गराएमा २ वर्ष सम्म कैद र २० हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।

बलात्कार गरेमा मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ (३) (ख) बमोजिम १० वर्ष वा १० वर्ष भन्दा बढी र  १४ वर्ष भन्दा कम उमेरकी बालिका भएमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ ।

यसैगरी मुलुकी अपराध संहिता २०७४ को भाग २ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ को उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको छ ।

अन्य

भिडियो