१३ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेको भन्दै देवदह नपा–११ का २५ वर्षीय कोइला भनिने विरेन्द्र भर, विरेन्द्रकी आमा ५० वर्षीया अकाली भर र ५५ वर्षीया सितली भर विरूद्ध पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको छ ।
आरोपित विरेन्द्र भरले बालिकालाई जेठ ९ गते साँझ गाउँ नजिकैको खर्यानमा लगेर बलात्कार गरेको र गाउँलेहरूले देखेपछि समातेर जेठ १० गते बिहान देवदह नपा–११ का वडा अध्यक्ष अमर बहादुर चौधरी सहित गाउँलेको समूहले पीडित बालिकालाई आरोपित भरको जिम्मा लगाएको पीडित परिवारको आरोप लगाएका छन् ।
बलात्कार घटनाबाट जोगिन बालिकालाई जेठ १० गते आरोपित भरले बालिकालाई आफ्नो घरमा लगेर गएका थिए ।
घरमा लगेपछि विरेन्द्रको आमा र ठुली आमाले हाम्रो जात नमिल्ने र घरमा पस्न दिदैनौ भन्दै कुटपिट तथा लछार पछार गरेपछि विरेन्द्रले देवदह नपा–२ पेटवनियामा रहेको अर्को घर लिएर गएको स्थानीय प्रत्यक्षदर्शी अमन खत्रीले बताउनु भयो ।
जेठ ११ गते बिहान देवदह नपा–२ पेटवनियाको घरदेखि पश्चिम तर्फ रहेको रोहिणी खोलाको छेउमा रहेको भेलोरको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृतकको शरिरमा लगाएको माथिल्लो बस्त्र दुई तीन ठाउँमा च्यातिएको, शरिरमा निलडामहरू देखिएको र आरोपित विरेन्द्र भरले लगाएको चाँदीको सिक्री मृतकको भित्री बस्त्र अडकिएको अवस्थामा फेला परेको पीडित पक्षलले बताएका छन् । छोरीले आत्महत्या गरी मर्नुपर्ने कुनै कारण अवस्था नरहेकोले मारेर झुण्डाइएको मृतककी आमाले बताउनु भयो ।
मृतकका बुवाको १० वर्ष अघि मृत्यु भएको र एकल महिला भएकोले समाज बसेर उमेर नै नपुगेकी छोरीलाई अर्काको जिम्मा लगाउनु समाजको गल्ती भएको पीडितकी आमाले बताउनु भयो । आफुहरू दलित समुदायको भएका कारण आफ्नो छोरीको हत्या गरेको बताउँदै दोषीलाई कडा कारवाही हुनु पर्ने मृतककी आमाको माग रहेको छ । वडा अध्यक्ष लगायतका समाजका व्यक्तिले यसरी बालिकालाई जबरजस्ती हात समाएर पठाएकोले अनाहकमा ज्यान गुमाउनु परेको स्थानीयको आरोप छ ।
देवदह नपा– ११ का वडा अध्यक्ष अमरबहादुर चौधरीले घटनाका सम्बन्धमा आफु व्यस्तताका कारण समाजले राखेको बैठकमा पुरा समय नबसेको र मैले केटीलाई केटाको जिम्मा लगाएको भन्ने पीडित पक्षको आरोपमा सत्यता नभएको बताउनु भयो ।
मृतकका परिवारले घटनाका विषयमा जेठ १२ गते किटानी सहितको उजुरी दिँदा प्रहरीले नलिएपछि अधिकारकर्मीहरूको पहल र दवावमा जेठ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता भएको मृतककी आमाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले उजुरी दर्ता गरिसकेको र घटनाका आरोपितहरू फरार रहेको बताउनु भयो । घटनाका विषयमा सुक्ष्म अनुसन्धान र आरोपितहरूको खोजीकार्य भइरहेको डिएसपी खत्रीले बताउनु भयो । उहाँले पीडित परिवारलाई न्यायका लागि प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
शवको पोष्टमार्टम जेठ १३ गते लुम्विनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको र शव परीवारलाई बुझाइएको प्रहरीले जनायो ।
नेपालको कानुन अनुसार २० वर्ष उमेर पुग्नु पर्ने हुन्छ । मृतको उमेर १३ बर्ष (१२ वर्ष दुइ महिना १०)मात्रै छ । यसकारण यो सोझै बाल विवाह हुन आउँछ । कानुन अनुसार बाल विवाह गराएमा २ वर्ष सम्म कैद र २० हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।
बलात्कार गरेमा मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ (३) (ख) बमोजिम १० वर्ष वा १० वर्ष भन्दा बढी र १४ वर्ष भन्दा कम उमेरकी बालिका भएमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ ।
यसैगरी मुलुकी अपराध संहिता २०७४ को भाग २ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ को उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको छ ।