INSEC Online

📅 २०८३ जेष्ठ २१

परिवारका सदस्याहरू मिलेर छोरीको हत्या गरिएको भन्दै बुबाद्वारा प्रहरीमा उजुरी, अरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका – ३  विशालनगरकी २३ वर्षीया जयन्ती जोशीलाई जेठ १७ गते ३२ वर्षीय पति बिष्णु जोशी, ४९ वर्षीया सासु हेमा जोशी र २४ वर्षीया नन्द बिमला जोशीले हत्या गरेको भन्दै मृतकका बुबा मोहनप्रसाद जैशीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले जेठ १७ गते गिरफ्तार गरेको छ ।

घरको भान्सामा  जेठ १७ गते मृत भेटिएकी जयन्तीलाई उहाँका पति, सासु र नन्दले नै हत्या गरी झुन्डएको भन्दै मृतकका बुबाले जिल्ला प्रहरी कार्यालय,कैलालीमा किटानी जाहेरी दिएपछि ओरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

आरोपित पक्षले हत्या नभई आत्महत्या भएको बताउँदै आएका भए पनि मृतकका बुबा मोहनप्रसाद जैशीले  छोरीको  हत्या गरी झुन्डाइएकोले किटानी जाहेरी दर्ता गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो –‘छोरीलाई पाँच दिनदेखि खान नदिएको र १५ महिनाको छोरा खोसेर अलग्गै राखेका थिए  । यसभन्दा अगाडी पनि छोरीलाई पटक पटक कुटपिट गर्ने गरेका थिए ।  दुई दिन अघि मात्रै छोरीले छिमेकीको घरबाट फोन गरी आफूलाई अप्ठेरो भएको बताएकी थिएन् । मेरो छोरीको हत्या गरेर झुन्डाइएको हो ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बस्नेतले आरोपितहरूलाइ गिरफ्तार गरी अनुसन्धान भइरहेको र शवको पोष्टमार्टमका लागि सेती प्रदेशिक अस्पतालमा राखिएकोले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता भन्न सकिने बताउनु भयो ।

अन्य

भिडियो