सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा समाचार सङ्कलनका लागि पुगेका देउती एचडी टेलिभिजनमा कार्यरत ३५ वर्षीय बुद्धिसिहं ठकुरी, २४ वर्षीय नवराज रोकाय र क्यामरापर्सन २३ वर्षीय भीम परियारलाई सो संस्थाका पदाधिकारी र कर्मचारीहरूले हातपात गर्नुको साथै अपशब्द बोली दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।
सो संस्थाले असार १४ गते कर्मचारी आवश्यकताका लागि विज्ञापन प्रकाशन गरेको विवादको बारेमा रिर्पोटिङ गर्न गएका पत्रकारहरूलाई संस्थाका पदाधिकारी र कर्मचारीहरूले असार १८ गते हातपात गर्नुको साथै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
रिपोर्टिङका लागि आएका पत्रकारहरूसँग विवादको विषय अदालतमा गइसकेकोले केही भन्न नमिल्ने भनी फकार्एको र हातपात तथा अपशब्द बोली दुर्व्यवहारको घटना नभएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले बताए ।
नेपाल पत्रकार महासङ्घ, सुर्खेत शाखाले असार १८ गते नै एक प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्सर्ना गर्दै घटनाले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको र आगामी दिनमा यस्ता प्रकारका घटना नदोहोर्याई नागरिकले सूचना पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको उल्लेख गरेको छ ।