दुल्लु नपा-८ की ३१ वर्षीया सकुन्तला आचार्यले बहुविवाह गरेको आरोपमा २८ वर्षीय पति तिलक आचार्यविरुद्ध दर्ता गरेको बहुविवाह मुद्दामा अदालतले १ वर्षकैद र ५ हजार रुपिँया जरिबानाको फैसला गरेको छ ।
पीडित सकुन्तलाले पति तिलकले बागलुङ तमान गाविस-४ की कल्पना सिर्पालीसँग बहुविवाह गरेको आरोपमा वैशाख २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले जेठ १४ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको भदौ १४ गतेको इजलासबाट भएको फैसला अनुसार कान्छी पत्नी हुन आएकी कल्पना सिर्पालीलाई घरमा जेठी पत्नी छन् भन्ने थाहा नपाई आएका कारण सफाई दिइएको छ ।
भारतको मुम्बईमा मजदुरी गर्दा तिलकले लेवनाममा वैदेशिक रोजगार गर्दै गरेकी कल्पनासँग फेसबुकमार्फत चिनजानपछि ०७२ फागुन २७ गते मुम्बईबाट सोझै काठमाडौँ एयरपोर्टमा रिसिभ गरी विवाह गरेर दैलेख ल्याएपछि तिलककी जेठी पत्नीले बहुविवाहको उजुरी दिएकी थिइन् ।
यसैबीच बहुविवाहका आरोपितलाई छुटाउन न्यायाधीशलाई पैसा पुर्याइदिन्छौ भनि पैसा उठाउने घटनामा संलग्न दुल्लु नपा-५ का टिकाराम भन्ने प्रकाश रिमाल र गमौडी गाविस-६ का करूणकुमार खड्कालाई भदौ १४ गते दैलेख जिल्ला अदालतले दुई/दुई वर्षकैद सजाय र जनही ४५ हजार रुपियाँ जरिबाना गरेको छ ।
बहुविवाहको मुद्दामा थुनामा रहेका तिलक आचार्यलाई उन्मुक्ति दिलाउन ‘न्यायाधीशलाई नै पैसा पुर्याइदिन्छौं’ भनी तिलकसँग बहुविवाह गरेकी बागलुङ तमान गाविस-४ की कल्पना सिर्पालीबाट उनीहरूले ५० हजार लिएको पुष्टी भएपछि अदालतले उक्त सजाय गरेको जनाएको छ ।
अदालतकै नाम लिएर ठगी गरेको पाइएकोले सार्वजनिक सचेतना स्वरूप न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट दुवै जनालाई उक्त कैद र जरिबानाको फैसला गरिएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले जानकारी दिए ।
बलात्कार घटनामा चार वर्षदेखि कैद भोगिरहेका करूणकुमार खड्काले बहुविवाहको मुद्दामा थुनामा परेका तिलक आचार्यलाई छुटाउन सक्छु भन्दै टिकाराम भन्ने प्रकाश रिमाललाई प्रयोग गरी धरौटीमा तारेक बाहिर बसेकी कल्पना सिर्पालीबाट ५० हजार लगेको अदालतले जनाएको छ । करूणकुमारलाई पहिलेको कैद सकिएपछि अहिलेको दुई वर्षथपिने बताइएको छ ।