२५ वर्षीया अशक्त (सुस्तमनस्थिति भएकी) युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका–४ शनिबारेका ६६ वर्षीय जनक राईलाई जिल्ला अदालत उदयपुरले कात्तिक १८ गते १० वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आरोपितले बलात्कार गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो ।
बलात्कार गरेको कसुरमा पाँच वर्ष र अशक्त महिलालाई बलात्कार गरेको कसुरमा थप पाँच वर्ष गरी १० वर्ष कैद हुने गरी फैसला सुनाइएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
पीडित युवतीलाई राईले गत वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २१ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो । राईलाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेकोमा जेठ १४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।