सडक सञ्जालले नछोएको र सडक निर्माणको क्रममा रहेको उत्तरी धादिङको तिप्लिङ, लापा, झर्लाङ, र रि क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले भत्किएका पुननिर्माणमा समस्या भोगिरहेका छन् ।
सडक नभएका कारण गाउँमा निर्माण सामग्री पुर्याउन नसक्दा पुनर्निर्माण नै प्रभावित भएको छ । यातायात साधन पुगेको दार्खाबाट गाउँहरूमा सिमेन्ट, रड र अन्य निर्माण सामग्री पुर्याउँदा प्रतिकेजी ४० रुपियाँभन्दा बढी भाडा लाग्ने भएपछि गाउँमा निजी आवास, सरकारी संरचना, विद्यालयहरू निर्माणमा समस्या आएको लापाका सामाजिक अभियन्ता जिवन तामाङले बताए ।
दार्खाबाट खच्चडले बोकेर एक बोरा सिमेन्ट लापाको कपुरगाउँसम्म पुर्याउँदा ४ हजार रुपियाँ पर्ने, भनेको बेलामा ढुवानी गर्न खच्चड समेत नपाउने र विद्यालय निर्माणको लागि दातृ निकायले दिएको अनुदानमा समेत काम गर्न ढिलाइ भएको कपुरगाउँका निर तामाङले बताए ।
गाउँमा हालका दिनसम्म आइपुग्दा आधा मानिसले पनि घर बनाइ सकेका छैनन् । ससाना घर टहरा बनाएका छन् । जहाँ मानिस बस्न हुने अवस्था नै छैन । मापदण्ड अनुसारको एउटा सानो भान्सा कोठा जत्रो बनाउने, त्यसलाई गोठको रूपमा प्रयोग गर्ने आफू बस्ने घर अर्कै बनाएर मानिसहरू बसेको अवस्था उत्तरी धादिङमा देखिन्छ ।
खच्चडबाट सामान ढुवानी गर्नु पर्ने भिर पहराको छेउमा भएका बस्तीहरूका मानिस सदरमुकाममा सामान्य उपचार सेवा लिन जाँदा कम्तिमा एक साता लाग्ने गरेको र बोकेर लानु पर्ने अवस्था आएमा बिरामीहरू गाउँमै अलपत्र पर्ने तथा ‘साहु’हरूले मात्र हेलिकप्टर चार्टर गरेर काठमाडौँका अस्पताल लाने अवस्था रहेकोले उत्तरी धादिङका मानिसहरूको जीवन नै जोखिममा रहेको लापाका सामाजिक अभियन्ता सिलास तामाङले बताए ।
सदरमुकामबाट साविकको दार्खा गाविससम्म सवारी साधन पुगेको भएपनि वर्षाका बेला सदरमुकामबाट अवरूद्ध भएको बाटो दसैँका बेलामा समेत डुण्डुरे खोलासम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
किन्ताङ फेदीबाट खच्चडमा सामान ढुवानी गरेर लापा पुर्याउँदा एक बोराको १ हजार पर्ने चामलको मुल्य कम्तिमा ३ हजार ५ सयसम्म पर्ने स्थानीयले बताए ।
विद्यालय बनाउन वा स्वास्थ्यचौकी बनाउन, सिमेन्ट बोकेर भवन बनाउन सदरमुकामको तुलनामा चार गुणाले महङ्गो पर्ने भएपछि गाउँमा मानिसहरू सामान्य जीविका मात्र धानेर बस्न बाध्य भएको लापा निवासी रूबीभ्याली गाउँपालिका-५ का वडाध्यक्ष धिरज तामाङले बताए ।
लापा, झर्लाङ, रि, सेर्तुङ र तिप्लिङका विद्यालयहरू युएमएनको साझेदारीमा नमस्ते ग्रामीण विकास समाज र हिम्स नेपाल नामक गैरसरकारी संस्थाहरूले निर्माण गरिरहेका छन् । भूकम्पले क्षति पुर्याएका विद्यालय निर्माणमा ढुवानी समस्याका कारण समयमै निर्माण नसकेको र लागत मुल्य अत्यन्तै चर्को भएको हिम्स नेपालका अध्यक्ष जीवन तामाङले बताए ।
खच्चडमा रड बोक्न कठिन हुने भएपछि रडलाई भाँचेर सानो पारेरमात्र बोकाउनु पर्ने र सिमेन्टको तुलनामा रड ढुवानी २० प्रतिशतले महङ्गो पर्ने गरेको उनले बताए ।


















