INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह रोक्न टोलटोलमा नाटक र वृत्तचित्र

तमानखोला गाउँपालिका अहिले बालविवाह रोक्न र बालविवाहलाई शुन्य बनाउन लागिरहेको छ । जिल्लाको अति दुर्गम मानिने यस गाउँपालिकाका अधिकांश वडाहरूमा बाल विवाहले जरा गाडेको छ । यस गाउँपालिकाका खुङ्खानी, स्याउला, बोङ्खानी, हिले, खोलेसवाङ् र पहिरा जस्ता गाउँमा २० वर्षपुगेका अविवाहिता भेटाउनै मुस्किल पर्छ ।

Photo20181030Baglung1

विवाह गर्न उपयुक्त उमेर २० वर्षहो भनेर सम्झाउनु यस ठाउँका स्थानीयका लागि बालुवामा पानी खन्याउनु जस्तै भएको छ । २०७५ साल वैशाख महिनाबाट तमानखोला गाउँपालिकाका प्रमुख र उप-प्रमुख गाउँगाउँमा हुने बालविवाह रोक्न मात्र होइन भएका बालविवाह बदार गर्न समेत लागि परेका छन् ।

गाउँपालिकाले तमानखोला गाउँपालिकामा भएका बाल विवाह र विवाहपछि विवाहिताहरूले भोगेका समस्या र चुनौति समेटेर एउटा डकुमेन्ट्री तयार गरेको छ । गाउँपालिका भित्रका वडावडामा पुगेर डकुमेन्ट्री देखाउने र ‘बालविवाह नगरौँ र हुन पनि नदिऔँ’ भन्ने सन्देश दिने अभियान चलाएको गाउँपालिकाले पछिल्लो समय विद्यार्थीलाई तालिम दिएर बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा तथा जातीय छुवाछुत न्यूनीकरणको लागि नाटकमार्फत सचेतना फैलाउन थालेको छ ।

Photo20181030Baglung2

तमानखोला कला समूहले गाउँपालिकाका ६ वटै वडाबाट प्रतिनिधित्व हुने गरी ६ जना बालिका र सातजना बालक गरी १३ जना बालबालिकालाई तालिम लिएर पछिल्लो समय गाउँपालिकाले वडावडामा नाटक प्रदर्शन गर्न थालिएको छ ।

बालबालिकाहरू आफैँले तयार गरेको नाटकको कथामा गरिबीको कारणले उमेर नपुगी विवाह गर्नुपरेको, विवाहपछि गर्भवती हुँदा सुत्केरी हुन नसकेर आमा र बच्चाको मृत्यु भएको, छोरा जन्माउनकै लागि दोस्रो विवाह गरेकोलगायतका चरित्र समावेश गरिएको छ ।

Photo20181030Baglung3

तमानखोला गाउँपालिका प्रमुख जोकलाल बुढाले गाउँपालिकाले बाल विवाहको अवस्थालाई शुन्यमा पुर्‍याउन आगामी आर्थिक वर्षहरूमा पनि निरन्तरता दिने भन्दै छिमेकी गाउँपालिकाहरूले पनि यो अभियानलाई सुरू गरेको खण्डमा वाल विवाह न्यूनीकरणमा थप सहज हुने बताए ।

हालसम्म कला समूहले तमानखोला गाउँपालिका-१ को पैरा भुमे प्राथामिक विद्यालय, जनजागृति माध्यामिक विद्यालय, वडा नम्बर ५ को शान्ति मावि, वडा नम्बर ४ को हिले, १ को स्याउला लगायतका स्थानमा नाटक प्रदर्शन गरिसकिएको गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले बताइन् ।

गाउँपालिकाले हालसम्म १६ देखि १९ वर्षसम्मका बालबालिकाहरूका बिचमा भएका १० वटा बाल विवाह बदर गरेको सो गाउँपालिकाको न्यायिक समिति संयोजकसमेत रहेकी उपाध्यक्ष शेरचनले बताइन् ।

पछिल्लो समय गाउँपालिकाले घरघरमा पुगेर बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक अभियान सञ्चालन गरेपछि आफ्ना बाआमाको सोचाइमा समेत परिर्वतन आउन थालेको तमानखोला गाउँपालिका-१ की १७ वर्षीया सरीता बिकले बताइन् । बिक भन्छिन्-‘पहिलेपहिले छोरी अर्काको कर्म खाने जात हो उमेर ढल्केपछि बिहे गर्न गाह्रो हुन्छ भन्ने मेरा बाबाआमा आजभोली समयमै विद्यालय जा भन्नुहुन्छ ।’

अन्य

भिडियो