INSEC Online

📅 २०८३ जेष्ठ २१

विष खुवाएर छोराको हत्या गरी आफैँ पनि विष सेवन

महाबु गाउँपालिका–१ खरिगैराका सात वर्षीय आयुष नेपालीलाई विष खुवाएर २४ वर्षीया आमा कल्पना नेपालीले पनि विष सेवन गरेकी छन् ।

पति सुजन नेपालीसँग कात्तिक ११ गते भएको विवादका कारण पति बाहिर गएको मौकामा ती महिलाले आफू र तीन वटा छोरालाई समेत विष खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आयुषलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै बालकका मृत्यू भएको दैलेखका प्रहरी इञ्चार्ज ठाकुरप्रसाद पोखेरेलले जानकारी दिए ।

कल्पना र उनको ६ महिनाको कान्छो छोरा अङ्कित नेपालीलाई दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि कात्तिक ११ गते नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याएर उपचार सुरू गरिसकिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले बताए ।

प्रहरीका अनुसार १०० मिलिलिटर ‘अर्गानिक फस्फोरस’ नामक विषादीको बट्टाबाटै आमाले एक तिहाई जति पहिला आफूले पिएर दिएको विष चाख्नासाथ अनौठो गन्ध मानेर माइलो छोराले मुखमा परिसकेको पनि थुकेर खेल्न गएकाले उनलाई भने केही भएन ।

दैलेखमा गएको जेठमा महाबु गाउँपालिका–५ काशिकाँधकी एक महिलालाई पनि पारिवारीक कलहका कारण यस्तै विषादी आफू र दुई जना बच्चालाई खुवाएपछि ९ वर्षको छोराको मृत्यू भएको थियो ।

आरोपित आमाको एक महिना कर्णाली प्रदेश अस्पतालमा उपचार गरी स्वास्थ्य अवस्था सुधार भएपछि प्रहरी अनुसन्धानका आधारमा चलाएको मुद्दामा अदालतले पुर्पक्षको लागि जिल्ला कारागारमा पठाएको छ ।

अन्य

भिडियो