जिल्लाका विभिन्न स्वास्थ्य चौकीबाट जिल्ला बाहिर स्वास्थ्यकर्मी सरुवा भएर गएपछि सर्केगार्ड गाउँपालिकाका पाँच ओटा स्वास्थ्य चौकी, सिमकोट गाउँपालिकाका स्याँडा, बरगाउँ र ठेहे, नाम्खा गाँउपालिकाका हेक्का र लिमि स्वास्थ्य चौकी डेढ महिनादेखि बन्द भएका छन् ।
स्वास्थ्य विभागले विकल्प नगरी जिल्लाबाट २४ जना अनमी, चार जना अहेव र तीन जना एचएको सरुवा गरेपछि जिल्लाका १० ओटा स्वास्थ्य चौकी बन्द हुँदा सेवाग्राही प्रभावित भएको स्थानीयबासीको भनाई छ ।
स्वास्थ्य चौकीका अनमी, अहेव र एचएलाई सरुवा गरेपछि स्वास्थ्य चौकी बन्द भएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कर्णजङ्ग शाहीले बताए ।
स्वास्थ्य चौकी बन्द हुँदा बिरामीलाई चार घण्टा पैदल बोकेर छिमेकी साँयाको स्वास्थ्य चौकीमा पुर्याई उपचार गर्न बाध्य भएको वडा अध्यक्षले गुनासो गरे ।
डेढ महिनायता जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीबाट १७ जना अनमी, चार जना अहेव र तीन जना एचएको सरुवा भएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए ।
विभागको यो कार्यले सर्केगाड र नाम्खा गाउँपालिकाका स्वास्थ्य चौकी बन्द रहँदा बिरामी छिमेकी स्वास्थ्य चौकीमा चार देखि ६ घण्टा पैदल हिडेर जाने गरेको स्थानीयबासीको भनाई छ ।
सिमकोट गाउँपालिकाको स्याँडा, बरगाउँ र ठेहेमा पनि स्वास्थ्यकर्मीको अभाव भएको र अन्य स्वास्थ्य चौकीमा पनि जनशक्तिको अभाव भएकाले समस्या देखिएको सिमकोट गाउँपालिका–८ का हर्कवीर शाहीले गुनासो गरे । स्थानीय शाहीका अनुसार स्वास्थ्य चौकीमा सामान्य सिटामोल समेत दिने कर्मचारी नहुँदा रित्तो हात घर फर्कनु परेको उनले गुनासो गरे ।
हुम्लामा प्रायजसो औषधिको त अभाव हुन्छ नै, भएका स्वास्थ्यकर्मीको पनि विकल्प नगरेर जिल्लामा भएका जनशक्तिलाई सरुवा नगर्न पत्राचार गरेपनि केही उपाय नलागेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर टसी लामाले बताए ।
जिल्लामा मौसम परिवर्तनका कारण महामारी फैलन सक्ने भएकाले सरुवा भएका स्वास्थ्यकर्मीको रमाना दुई महिनापछि बुझाउन प्रदेश सरकारलाई अनुरोध गरेपनि सुनुवाई नभएको डाक्टर लामाको भनाई छ ।
गत वर्ष यही समयमा ४२ जना स्वास्थ्यकर्मी जिल्लामा नयाँ नियुक्त भएर आएपनि एक वर्ष नपुग्दै १७ जना सरुवा भएको र कूल मध्ये कति त जिल्ला मै नआएर सरुवा भएको अस्पताल स्रोतले जनाएको छ । दुर्गममा काम गर्ने भन्दै लोक सेवामा नाम निकाल्ने तर ६ महिनापछि काम नगर्ने प्रवृति बढदै गएको स्थानीयबासीले बताए ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।