INSEC Online

📅 २०८३ जेष्ठ २१

दसैँमा ग्रामीण क्षेत्रका खाद्य डिपोमा चामल नहुँदा समस्या

ग्रामीण क्षेत्रका खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई नेपालीको महान चाडपर्व दसैँमा समस्या भएको छ भने तिहारमा समेत समस्या हुने भएको छ ।

सिञ्जा गाउँपालिकाको धापा र तिला गाउँपालिकाको जुम्लाकोट डिपोमा संस्थानको चामल नहुँदा स्थानीयले बजारको महङ्गो चामल खरिद गरी चाडपर्व मनाउनु पर्दा समस्या भएको हो ।

संस्थानबाट आउने अनुदानको चामल नआउँदा बजारमा महङ्गो चामल खरिद गरेर दसैँ मनाउनु परेको स्थानीयको गुनासो गरेका छन् ।

‘खाद्य संस्थाका निमित्त प्रमुख पूर्णबहादुर थापाका अनुसार धापा र जुम्लाकोट डिपोमा २५/२५ सय क्वीन्टलको कोटा हो । तर, अहिलेसम्म डिपोमा चामल आएको छैन ।’–निमित्त प्रमुख थापाले भने–‘संस्थानको सदरमुकामस्थित गोदाममा चामल प्रशस्त छ । ग्रामीण क्षेत्रका डिपोमा टेण्डर आह्वान गरेर ठेकेदारले समयमा चामल नल्याउँदा समस्या भएको हो ।’

गाउँको डिपोमा आउने चामल बिचैमा विक्री हुने, डिपोमा आएपनि नजिकैका व्यापारीले विक्रीमा राख्ने र समयमा चामल नपुग्ने भएकाले संस्थानको चामलप्रति स्थानीयको चासो घट्दै गएको स्थानीय मुनबहादुर बोहोराले बताए ।

उनले भने–‘चामल नियमित पाउन नसक्दा १२ महिना नै गाउँका डिपोमा चामल अभाव नै छ ।’ दुर्गम क्षेत्रका बासिन्दालाई मध्यनजर गर्दै डिपो स्थापना भएको भएपनि डिपोमा चामल ल्याउनेमा निकै लापारबाही हुने गरेको दुखेसो स्थानीयले गरेका छन् ।

सदरमुकाम खलङ्गामा जुम्ला भरी आवश्यक पर्ने खाद्यान्न मौज्दात रहेको संस्थान निमित्त प्रमुख थापाले बताए ।  उनका अनुसार नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा ५ सय ५७ क्वीन्टल चामल मौज्दात छ ।

गाउँका डिपो खाली रहँदा सदरमुकाम खलङ्गामा रहेको चामलको कुनै अर्थ नरहेको स्थानीय बताएका छन् । खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगञ्ज, राजापुर र सुर्खेतदेखि वार्षिक १० हजार क्वीन्टल चामल जुम्लाको लागि आउने गरेको छ ।

सदरमुकाम खलङ्गामा रहेको संस्थान कार्यालयबाट गोठीचौर, पातारासी, तातोपानी र चन्दननाथ नगरपालिका क्षेत्रका बासिन्दाले मात्रै चामल लिने गरेका छन् ।

यहाँका कनकासुन्दरी, सिञ्जा, हिमा र तिला गाउँपालिकाका बासिन्दाले संस्थानको चामल देख्न समेत पाउँदैनन् । सोना मन्सुली प्रतिकेजी ५० रुपियाँ, उसिना मनसुली प्रतिकेजी ४२ रुपियाँ र जापानी चामल प्रतिकेजी ६१ रुपियाँ २५ पैसामा विक्री वितरण हुँदै आएको छ ।

खाद्य संस्थानमा रहेको जापानी चामल विक्री भएको छैन । प्रतिकेजी ४४ रुपियाँबाट एक्कासी ६५ रुपियाँमा वृद्धि भएपछि यो चामल विक्री नभएको हो ।

अन्य

भिडियो