जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । समयमा नै औषधि खरिद प्रक्रिया सुरू गर्न नसक्दा अभाव भएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए ।
उनले भने–‘स्थानीयस्तरमा पनि औषधि खरिद प्रक्रिया लामो छ । केन्द्र र जिल्लाबाट औषधि आउनै छाड्यो । स्वास्थ्य संस्थाबाट प्रदान गर्ने भनिएका औषधिको प्रायः अभाव भएको छ ।’
पुरचौडी नगरपालिकाको कार्यपालिकामा स्वास्थ्यका कार्यक्रम पेश गरिएता पनि स्वीकृत हुन नसकेको नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए । उनले भने–‘कार्यक्रम नै स्वीकृत नहुँदा औषधि खरिद प्रक्रिया ढिलो होलाजस्तो छ । जिल्ला र क्षेत्रबाट औषधि आएको छैन । सबै स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ । एक महिनाभित्र खरिद गर्न नसकिए ‘स्टक आउट’ हुन्छ ।’
शिवनाथ गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा पनि औषधि अभाव भएको स्वास्थ्य संयोजक जगदीश भट्टले बताए । उनले भने–‘जिल्ला र क्षेत्रबाट औषधि आउने हल्ला थियो । तर, अझै औषधि आइपुगेन । बल्ल गाउँपालिकाले औषधि खरिद प्रक्रिया सुरू गरेको छ । एक महिनाभित्र औषधि पु¥याउने तयारी गरिरहेका छौँ ।’
दुर्गम ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था मात्र नभई सदरमुकामस्थित जिल्ला अस्पतालमा पनि आवश्यकता अनुसार औषधि आपुर्ति हुन सकेको छैन ।
नगरपालिकामार्फत औषधि खरिद प्रक्रिया सुरू भएदेखि कुनै न कुनै रूपमा औषधि अभाव हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीश विष्टले बताए ।
उनले भने–‘जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क प्रदान हुन्छ । तर, स्थानीय तह मातहत अस्पताल गएपछि औषधि आपुर्ति सहज हुन सकेको छैन । समयमा औषधि खरिद प्रक्रिया सुरू हुँदैन । यसले समस्या निम्त्याइरहेको छ ।’
मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले भने–‘पहिला औषधि खरिद भइसकेको छ भनेर पत्र आयो । हामीले औषधि खरिद गरेनौँ । समयमा औषधि नआउने भएपछि फास्ट ट्रयाकबाट करिब एक महिनाका लागि औषधि खरिद गरेका छौँ । क्षेत्रीय मेडिकल स्टोरबाट समेत औषधि आएको छैन । यसले गर्दा बिरामीहरू समस्यामा परेका छन ।’
धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा औषधि खरिद भए पनि ढुवानीका लागि आवश्यक रकम नहुँदा क्षेत्रीय मेडिकल स्टोरमा औषधि रोकिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. विष्टले बताए ।
स्वास्थ्य संस्थामा आफूहरूलाई आवश्यक औषधि नपाउने गरेको सेवाग्राहीको गुनासो छ । स्वास्थ्य संस्थामा पुग्दा औषधि नै छैन भन्ने जबाफ आउने गरेको सुर्नया–६ का प्रकाश अवस्थीले बताए । उनले भने–‘समान्य खालका सिटामोल, आइरन चक्कीसमेत उपलब्ध छैन । यसले गर्दा बिरामीलाई समस्या भएको छ ।’
जिल्लाका धेरैजसो स्थानीय तहमा औषधि अभाव देखिएको छ भने केही स्थानीय तहले भने थोरै मात्रामा भए पनि औषधि खरिद गरेका छन् ।
आयुर्वेदिक औषधिको समेत अभाव
जिल्लामा रहेका आयुर्वेदिक स्वास्थ्य संस्थामा पनि औषधि अभाव भएको छ । पछिल्लो समय आयुर्वेदिक औषधि प्रयोग गर्ने बिरामीको सङ्ख्या बढे पनि औषधि अभाव भएपछि रित्तो हात फर्काउनु परेको आयुर्वेद स्वास्थ्य केन्द्र मुस्याचोरका रामदत्त भट्टले बताए । उनले भने–‘मेलौली, सदरमुकाम र मुस्याचोरमा गरेर तिन ठाउँका आयुर्वेद स्वास्थ्य केन्द्रमै औषधि अभाव भएको छ ।’