INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन महिनादेखि सम्पर्कविहीन बालक मृत अवस्थामा भेटिए, हत्याको आशङ्का

घर परिवारसँग तीन महिनादेखि सम्पर्कमा नहरेका चङ्खेली गाउँपालिका–२ दार्म गाउँका १४ वर्षीय बालक शैलेन्द्र शाही मृत अवस्थामा भेटिएका छन् ।

गत साउन १२ गते दुध, दही लिएर लेकबाट घर फर्कँदै गर्दा बीच बाटोबाट हराएका बालक मृत फेला परेको मृतक बालकका बुवा जनखे शाहीले बताए ।

जनखे शाहीका अनुसार छोरालाई करिव तीन घण्टाको पैदल बाटो टाढा रहेको गाई खर्कबाट दुध ल्याउन पठाएका थिए । तर, छोरा लेकबाट फर्किसकेपछि बीचबाटोमै अज्ञात व्यक्तिले अपहरण गरी लगेको आशङ्का गरेको बताए ।

तीन महिनाको समयमा व्यापक खोजी गरेपछि असोज ११ गते घना जङ्गलमा स्याउलाले छोपेको अवस्थामा भेटिएको बालकका बुवाले बताए । बीचबाटै हराएका बालकको मृत्यु भई कङ्कालमात्र भेटिएको हो ।

बालक चङ्खेली गाउँपालिका–२ दार्मा गाउँको बालज्योती प्राथमिक विद्यालयमा कक्षा पाँचमा अध्यनरत थिए । त्यस्तै बालक अपहरण गरी हत्या गर्ने व्यक्तिबारे केही पनि जानकारी नभएको उनका आफन्त प्यारीलाल शाहीले बताए । जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर गिहिन्द्र बोगटीले उक्त घटनाका बारेमा प्रहरीमा उजुरी नपरेको बताए । घटना सार्वजनिक भएसँगै अनुसन्धान सुरू गरिएको उनले बताए ।

अन्य

भिडियो