INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूर पहाडको खानेपानीः जहाँ पानी पैँचो दिनुपर्छ

नवदुर्गा गाउँपालिकाका विभिन्न गाउँमा खानेपानीको चरम अभाव भएको छ । गाउँ नजिक पानीका स्रोत नभएका कारण यहाँका विभिन्न टोलगाउँमा खानेपानीको आभाव भएको हो ।

सरकारले सबैका लागि खानेपानी अनिवार्य भने तापनि नवदुर्गा गाउँपालिकामा खानेपानीको निकै समस्या रहेको छ । सो गाउँपालिका–५ मा रहेका ठाँटा बजार, कुणी, खाणँखोरी दुलौना, मल्लाउका महिला र बालबालिकाको बिहान चार बजे उठेर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता रहेको छ ।

८ सय घरधुरी रहेको वडामा नजिकमा पानीका श्रोत नहुँदा स्थानीय कुवा र खोलाको दुषित पानी खान बाध्य भएका छन् । ‘एक ग्रागी पानी ल्याउनका लागि ३–४ घण्टा लाग्छ । घरका मानिसले पालो लगाउनुपर्ने भएकाले विद्यालय छोडेर पनि बालबालिकाले पानी भर्ने गरेका छन् ।’–स्थानीय सरस्वती साउदले भनिन्–‘गाईगोरुलाई पानी खुवाउनदेखि लत्ता कपडाका साथै नुहाउनका लागि ३–४ घण्टाको पैदल दुरी हिँड्नुपर्ने बाध्यता रहेको छ ।’

खानेपानीका लागी बिहान ४ बजे उठेर स्रोततिर जानुपर्ने बाध्यता रहेको स्थानीय पार्वती साउँले बताइन् । उनले भनिन्– ‘बिहानै गएपनि अन्य गाउँका मानिसहरू लाइनमै बसेका हुन्छन् । एक दुई घण्टा पानी भर्नमै लाग्छ । उताबाट फर्कँदा ३–४ घण्टासम्म लाग्छ ।’

‘खानेपानी अभावमा गाउँमा विवाह हुँदा समेत पानी पैँचो माग्नुपर्ने बाध्यता रहेको छ ।’–स्थानीय लालबहादुर साउँदले भने–‘छिमेकीका छोराछोरीको विवाहमा मेरो घरका मान्छेहरू पानी भर्न गए मात्र मेरा छोराछोरीको विवाहमा पानी खान पाउँछु । पानीको धेरै समस्या छ ।’उनले थपे–‘मेरो घर बाटोमा छ । यताउता जाने मान्छेलाई पानी दिनैपर्‍यो ।’

वडाका सबै गाउँमा खानेपानीको व्यवस्थापन हुने गरी खानेपानी योजना निर्माण सुरू गर्नका लागि आफूले सङ्घीय सरकारसँग आग्रह गरेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए ।

‘यहाँ पानी किनेर खानुपर्ने, पानी पैँचो दिनुपर्ने समस्या छ ।’–गाउँपालिका अध्यक्ष विष्टले भने–‘यो समस्या समाधान गर्नका लागि गत आर्थिक वर्षमा डिपिआर बनाएका छौँ ।’ उनले पानीको मुहान गाउँभन्दा तल भएको हुनाले तलबाट पानी गाउँमा तान्नको लागि बजेट पनि बढी लाग्ने भएकाले सङ्घीय सरकारसँग आग्रह गरेको बताए ।

अन्य

भिडियो