जिल्लाका ग्रामीण सडकमा वर्षातका कारण गएको पहिरोका कारण यातायात सेवा अवरूद्ध हुँदा बिरामी मर्कामा परेका छन् ।
मौसम परिवर्तनको समयमा धेरै बिरामी हुने गरेको र उनीहरूलाई अस्पतालसम्म पुर्याउन यातायात सेवा अवरूद्ध नहुँदा डोको र स्टेचरमा राखेर अस्पताल लैजानु पर्ने बाध्यता रहेको छ ।
मुसिकोट खलङ्गादेखि पेउघा, नुवाकोट, खोलागाउँलगायतका क्षेत्रमा जाने सडक बिग्रिएपछि तीन महिनादेखि यातायात सेवा अवरूद्ध बनेको छ ।
सडक अवरूद्ध हुँदा समयमै उपचार नपाएर स्थानीय एक शिशुको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका-१० का प्रेमप्रकाश खड्काको चारमहिनाको छोरा समयमा उपचार नपाएपछि भदौ ३१ गते मृत्यु भएको स्थानीय शेरमान खड्काले जानकारी दिए ।
जण्डिसको समस्या देखिएपछि बोकेरै अस्पताल पुर्याउँदा ढिला भएको भन्दै जिल्लामा उपचार हुन नसकेपछि काठमाडौँ लैजाने क्रममा बच्चाको मृत्यु भएको उनको भनाइ छ ।
समयमा अस्पताल पुर्याउन सकेको भए बच्चालाई बचाउन सकिने थियोकी भन्ने खडका परिवारलाई लागेको छ । तर यातायात सुविधा नहुँदा र दिनभरको घाममा सदरमुकाम पुग्दा थप समस्या भएको स्थानीय बताउँछन् ।
त्यस्तै गाडी नचलेको समयमा सुत्केरी व्यथा लागेपछि त्रिवेणी गाउँपालिका-९ का वीरेन्द्र गहतराजले पत्नी सिर्जनालाई पाँच घण्टाको पैदल मार्गमार्फत जिल्ला अस्पताल पुर्याउनु परेको बताए । सुत्केरी भइसकेपछि पनि आमा र बच्चालाई घरसम्म ल्याउन समेत स्टेचरकै प्रयोग गरियो ।
“सडक सुचारु भएको भए एम्बुलेन्स वा जीपमै भएपनि सजिलै ल्याउने/लैजाने हुने थियो ।’-उनले भने-‘स्टेचरमा लैजादा र ल्याउँदा आफ्ना आफन्तको सहयोग लिनुपर्यो ।’ आफन्तहरू नहुनेका लागि स्टेचरमा बिरामी ओसारपसार गर्न निकै समस्या हुने गरेको स्थानीय बताउँछन् ।
त्यस्तै सामान्य ज्वरो आएपछि स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएर घरमै थलिएका त्रिवेणी गाउँपालिका-१० का डिल्लीबहादुर खड्कालाई पनि यस्तै बाध्यता भयो ।
मेडिकलमै सन्चो हुने आशमा पहिले कतै नलगिएको र एक्कासी समस्या बढेपछि स्टेचरमा बोकेर जिल्ला अस्पताल सल्ले लगेर उपचार गरिएको उनका बुवा गणेशबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै सोही निवासी वीरबहादुर बुढालाई जण्डिसको रोगले ग्रसित बनाएपछि उनी पनि मान्छेकै सहारामा बोकेर अस्पताल पुगेको छोरा घमण्ड बुढाको भनाइ छ । उनीहरूजस्ता थुप्रैले यस्तो समस्या भोग्नुपरेको गुनासो गर्दै आएका छन् ।
गाउँपालिको क्षेत्रभित्र पर्ने यस सडक खण्डमा अब वर्षात सकिएकाले दशैँतिहार अगाडि नै सडक सफा गरिने त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्तीले बताए । यसैगरी नपा क्षेत्रभित्र पर्ने सडक तत्काल सफा गरिने मुसिकोट नगरपालिकाका नगरप्रमुख देवीलाल गौतमले आश्वासन दिए ।