INSEC Online

📅 २०८३ जेष्ठ २१

बाग्लुङ बजारका अधिकांश फार्मेसी अवैधानिक, जनशक्ति अदक्ष

बागलुङ बजारमा सञ्चालनमा रहेका निजी क्लिनिक, तथा फार्मेसी पसलहरू अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । बागलुङ सदरमुकामभित्र सञ्चालनमा रहेका २८ ओटा औषधि पसलमध्ये २७ ओटा पसलको मापदण्ड पूरा नभएको बाग्लुङ नगरपालिकाले गरेको अनुगमनका क्रममा भेटिएको हो ।

स्वास्थ्यकर्मीहरूका नामबाट सञ्चालनमा रहेका फार्मेसीमा औषधिको बारेमा पूर्णज्ञान नभएका व्यक्तिहरूको भरमा औषधि पसल सञ्चालन भइरहेको पाइएको छ । अधिकांश औषधि पसलहरूमा लागू तथा मनोद्विपक औषधि विक्रीको अभिलेख दुरूस्त नरहेको, दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको छ ।

बागलुङका अधिकांश औषधि पसलमा डाक्टरको सिफारिस बिना विक्री वितरण गर्न नमिल्ने औषधिसमेत राखिएको, दक्ष जनशक्ति बिनानै औषधि किनबेच गरिएकाले तत्काल कडा कदम चाल्नुपर्ने क्षेत्रीय अस्पताल पोखराका फार्मेसिष्ट सविन लामिछाने बताउँछन् । उनका अनुसार अवैधानिक तरिकाले वर्षौँदेखि औषधि पसल सञ्चालनमा रहेको भएपनि सम्बन्धित निकायले कारबाही नगरेका कारण अवैध प्रकारका औषधि पसलहरूको सङ्ख्या बढ्दै आएको छ ।

विज्ञ व्यक्ति औषधि पसल सञ्चालन गर्ने अनुमति लिएर आफू अन्यत्रै व्यस्त हुने र अदक्ष जनशक्तिलाई ब्यवसाय सञ्चालन गर्न दिने गरेकोले पनि यस प्रकारको समस्या उत्पन्न भएको लामिछानेको भनाइ छ ।

अनुमति बिना सञ्चालनमा रहेका साथै सम्बन्धित स्वाथ्यकर्मीसमेत पसलमा नबस्ने गुनासो आएपछि लिखित रूपमा दक्ष जनशक्ति व्यवस्था गर्न निर्देशन दिएको बागलुङ नगरपालिका बजार अनुगमन समितिका बजार अनुगमन अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।

अनुगमन समितिले समयसमयमा गर्ने अनुगमनमा औषधि विक्रेताले औषधि विक्री विल नदिने, विक्री गरिएको औषधिको अपडेट नगरेको पाइएको सुवेदीको भनाइ छ । ‘हामीले जनगुनासो बढेपछि मेडिकल र फार्मेसीलाई यथासक्य चाँडो प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौँ । फेरि पनि यस्ता गुनासा आएमा अनुगमनका साथै कारबाही प्रक्रिया शसक्त बनाउने छौँ ।’-सुवेदीले भने ।

अन्य

भिडियो