नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्य राखिएको छ । धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक रहेको छ । उपधारा १ मा स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी व्याख्या गरिएको छ । त्यस्तै उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनी व्याख्या गरिएको छ ।
तर, यो कुरा नेपालको संविधानको मौलिक हकमा उल्लेख छ भन्दा सभापोखरी गाउँपालिका–५ का नागरिकलाई एकादेशको कथा जस्तो लाग्छ । सभापोखरी गाउँपालिका–५ मा पर्ने सिक्दिम र फाकुवाका नागरिक अझै पनि बिरामी डोकोमा बोकेर करिब ६ घण्टाको पैदल यात्राको बाटो हिँडेर गाउँपालिकाको केन्द्र बाह्रविसे बजारमा रहेको बाह्रविसे स्वास्थ्य चौकीमा जान बाध्य छन् ।
यो समयमा पनि बरिामी डोकोमा बोकेर अस्पताल पुर्याउनु पर्छ भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ । तर सङ्खुवासभाको सभापोखरी गाउँपालिकाको यि वडाका नागरिक सामान्य बरिामी हुदाँ पनि डोकोमा बरिामी नबोकी धरै पाउदैनन् । सो ठाउको जनसङ्ख्या करिब ६ सयको हाराहारिमा रहेको छ ।
सभापोखरी गाउँपालिका–५ सिक्दिम र फाकुवाका सर्वसाधरण एक गोली सिटामोल लिन मात्र ६ घण्टा डोकेमा बोकाएर बाह्रविसे बजार पुग्नु पर्ने बाध्यता छ । ती वडा स्थानीय तहको पुनर्संरचनापछिका नयाँ वडा हुन् । ती वडाहरूमा न त प्राथमिक उपचार गर्ने कुनै सरकारी स्वास्थ्य संस्था छन, न निजी क्लिनिक नै ! सरकारी तथा निजी क्षेत्रबाट प्राथामिक स्वास्थ्य सेवा समेत पुग्न नसक्दा आधारभूत स्वास्थ्य सेवाबाट समेत त्यस ठाउँका सर्वसाधरण वञ्चित छन् ।
पहिलेका गाविसहरू अहिले गाँउपालिका र नगरपालिका बने । तर, स्वास्थ्य समस्या ज्यूँका त्यूँ रहेको छ । ‘सभापोखरी गाउँपालिकाको वडा नं ५ सिक्दिम र फाकुवाको प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी नराखी नहुने अवस्था छ ।’–सभापोखरी गाउँपालिकाका अध्यक्ष रत्न सुब्बाले भने–‘यी वडाका सर्वसाधारणले सामान्य औषधिका लागि पनि कम्तिमा ६ घण्टा हिँड्नु पर्ने बाध्यता छ ।’
सडक सञ्जाल पनि नभएका कारण बरिामीलाई डोकोमा बोकेर बाह्रविसे बजार पुर्याउनु पर्ने बाध्यता छ । सभापोखरी गाँउपालिकाका फाकुवाका स्थानिय सुरेस राईले भने–‘हामिलाई राज्यले यो देशका नागरिक नै होइन जस्तो गर्छ । एउटा मात्रै स्वास्थ्य संस्था यो ठाउँमा भए सहज हुन्थ्यो । यदि कोही बिरामी भयो भने डोकोमा नै बोकेर बाह्रबिसे स्वास्थ्य चौकी पुर्याउनु पर्छ । कति जना त लौजाँदालैजाँदै पनि मरेका छन् ।’ स्थानीय पुर्ण लिम्बुले भने–‘अन्य ठाउँमा त एम्बुलेस बिग्रेर बरिामी अस्पताल पु¥याउन सकिएन भन्ने समाचार आउँछ । हाम्रो ठाउँमा त एम्बुलेन्स त केवल ‘आकाशको फल आँखा तरी मर !’ मात्रै छ ।
