याङवरक गाउँपालिका–३ का २५ वर्षीया गीता देवान सेलिङको सुत्केरी गराउने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै स्थानीयले भदौ १८ गते याङवरक गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी ओयाममा तालाबन्दी गरेका छन् ।
पीडित महिलाको मृत्यु भदौ १७ गते भएको थियो । जिल्ला अस्पतालको शवगृहमा राखिएको मृतकको शव घटना भएको तीन दिन बित्दा समेत पोष्टामार्टम भएको छैन । पीडितका आफन्तले सुत्केरीको सोही स्वास्थ्य चौकीमा मृत्यु भएको आरोप लगाएका छन् भने स्वास्थ्यकर्मीले थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताएका छन् । नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकी गर्भवती महिलालाई भदौ १५ गते सो चौकीमा भर्ना गरिएको थियो ।
पीडितका आफन्तले भदौ १८ गते सो स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय अहेब तेजबहादुर शाही, २३ वर्षीया अहेब सोनमी तामाङ र २४ वर्षीया अनमी वर्षा गौतमविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित पक्ष र अन्य सरोकारवालाहरूबीच छलफल चलिरहेकाले उजुरी दर्ता नगरिएको सो कार्यालयका सई विष्णु खड्काले बताए ।
मृतकका आफन्तले सो चौकीमा कार्यरत अहेब र अनमीको चरम लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । समयमा रिफर नगर्दा तथा १५ गते कार्यालय छाडेर गएका सो स्वास्थ्य चौकीमा कार्यरत अहेबद्वय १७ गते दिउँसोसम्म कार्यालयमा हाजिर नहुँदा पीडितको मृत्यु भएको स्थानीय सन्तोष सेलिङले आरोप लगाए ।
स्वास्थ्यकर्मीहरूले भने उपचारमा कुनै कमजोरी नगरिएको स्पष्टिकरण दिँदै आएका छन् । स्वास्थ्यकर्मीहरूविरूद्ध उजुरी दर्ता भए शवको पोष्टमार्टम नगर्ने र जिल्लाभरीको सेवा ठप्प पारी आन्दोलनमा उत्रले तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर तुम्बापोले जानकारी दिए ।
स्वास्थ्य चौकीमा पुर्याइएकी सुत्केरीको मृत्यु हुनु दुःखद् घटना भएको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयका अधिकृत सन्तोष आचार्यले बताए ।