बलात्कारका घटनामा राज्य संयन्त्र सम्वेदनशील हुनुपर्ने भन्दै डडेल्धुराका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश ७ का मुख्यमन्त्रीलाई भदौ १३ गते ज्ञापनपत्र बुझाएका छन् ।
इन्सेक, महिला मुक्ति समाज, नागरिक समाज, नेपाल पत्रकार महासङ्घलगायत अधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले एक महिनाअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरीएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तहरूलाई कानुनी कठघरामा ल्याउन प्रहरीले ढिलाइ गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
पीडितलाई न्याय दिलाउन आइपर्ने कुनै कानुनी अनुसन्धानमा प्रक्रियागत बाधा अड्चन भए सम्बन्धित निकायले परिमार्जन गर्नुपर्ने र पीडितले न्याय माग्न जाँदा पनि न्याय पाउन सकिने अवस्था नरहेकाले ज्ञापनपत्र बुझाइएको नागरिक समाज डडेल्धुराका सचिव रमेश जोशीले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले यस प्रकारका घटनाहरूमा प्रशासन चनाखो हुनुपर्ने भन्दै कञ्चनपुर घटनामा संलग्न अभियुक्तहरूलाई कानुनी कारवाहीका पक्षमा आफू पनि रहेको बताए ।