औरही नपा-१ स्थित मुख्य बजार क्षेत्रबाट अपहरणमा परेकी आठ महिनाकी बालिका सोनाली कुमारीको शव भदौ ११ गते भङ्गाह नपा र औरही नपा-१ को सीमानामा फेला परेको छ ।
सन्तोष चौधरीकी नाबालिका छोरी सोनालीको शव नग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
बालिकाको मृत्युको कारण पोष्टमार्टम पश्चात मात्र खुल्न सक्ने उनले बताए । ‘टाउकोमा चोट देखिएको छ । शरीरको अन्य भागमा समेत चोटपटक देखिएको छ । थप कुराहरू पोष्टमार्टमपछि भन्न सकिएला ।’-डिएसपी खड्काले भने । बालिकाको शवलाई पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।
घटनामा भङ्गाहा नपा-६ जमुनियाका भरत साहको सङ्लग्नता रहेको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको छ । सीसीटिभी फुटेजमा साहले नै बालिकालाई बोकेर लगेको देखिएको प्रहरीको भनाई छ । औरही नपा-१ स्थित मुख्य बजार क्षेत्रबाट घटनास्थल झन्डै दुई किलोमिटर टाढा रहेको छ ।
बालिकाको शव फेला परेपछि औरही बजार नै शोकमा डुबेको छ । घटनाको विरोधमा उद्योग बाणिज्य सङ्घ औरही शाखाले औरही बजार बन्द गराएको थियो ।
यसरी भएको थियो घटना
बालिकाका बावु सन्तोष चौधरी औरही बजारमा फेन्सी तथा किराना पसलका सञ्चालक हुन् । भदौ १० गते रक्षा बन्धनको दिन पसलमा केही भीडभाड थियो । त्यही भीडको मौका छोपेर साँझ ६ बजेतिर पसल बाहिरबाट बालिका हराएकी थिइन् ।
पसलमा सामान किन्ने मान्छे आएको मौका छोपी सन्तोषलाई चिन्छु भन्दै छोरीलाई काखमा बोकेको र खेलाउँदा खेलाउँदै लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । ‘यसरी छोरीलाई हत्या गर्ला भनेर सोचेका थिएनौँ ।’-सन्तोषले भने ।
बालिका अपहरणमा परे लगत्तै स्थानीय र प्रहरीले खोजतलास गरेका थिए । बालिकाको खोजीमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गौशाला र भङ्गहाको प्रहरी टोली खटिएको थियो । बालिकाका आफन्त रामआशिष चौधरीले दिएको जानकारी अनुसार औरही गाउँभन्दा पूर्व खेतमा बालिकाको सव फेला परेको थियो ।