आर्थिक वर्षको सुरूवात मै बाजुरामा खाद्यान्न अभाव हुने भएको छ । लगातारको वर्षाका कारण साँफे मार्तडी सडकखण्ड अबरूद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या हुँदा बाजुराबासीका लागि खाद्यान्न अभाव भएको हो ।
आर्थिक वर्ष २०७४/७५ का लागि केन्द्रले १० हजार क्विन्टल चामलको कोटा छुट्याए पनि ५ हजार क्विन्टल चामल मात्र आएको नेपाल खाद्य संस्थान बाजुराका निमित्त कार्यालय प्रमुख मेघराज ओझाले बताए । यस वर्षकेन्द्रबाट बाजुराका लागि छुट्याएको कोटा अनुसारको चामल समय मै ढुवानी हुँन नसकेमा यो आर्थिक वर्षभरी नै खाद्यान्न अपुग हुने ओझाले बताए ।
सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थानमा हाल करिब १ सय ५० क्विन्टल चामल र ३० क्विन्टल गहुँ मौज्दात रहेको छ । चामल र गहुँ गरी १ सय ८० क्विन्टल खाद्यान्न भदौ महिना भित्रै विक्री भइसकेको छ । त्यसपछि खाद्य घर नै खाली हुने भएको निमित्त कार्यालय प्रमुख ओझाले बताए ।
खाद्यान्न डिपोबाट हाल सोना मन्सुली, अरूवा मोटा चामल, उसिना चामल र गहुँ विक्री हुँदै आएको छ ।
स्थानीयहरूले अहिले सोना मन्सुली ३० केजीको १ हजार ५ सय ५ रुपियाँ, अरुवा मोटा चामल ३० केजीको १ हजार १ सय ९० रुपियाँ, उसिना चामल प्रति बोरा ९ सय ८० रुपियाँ र गहुँ प्रति ५० केजी १ हजार ६ सय ५० रुपियाँमा विक्री भइरहेको नेपाल खाद्य संस्थान बाजुराले जनाएको छ ।
यस भन्दाअघि सबैभन्दा बढी खपत हुने अरूवा मोटा चामल खाद्यान्न डिपोमा सकिएपछि स्थानीयहरू अन्य प्रकारका चामलका लिन नआउने गरेको खाद्य संस्थान बाजुराले जनाएको छ । खाद्य संस्थानले अहिले प्रति व्यक्ति ३० केजी मात्र चामल विक्री गरिरहेको जनाएको छ ।