INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा एक बन्दीको मृत्यु, परिवारद्वारा हत्याको आशङ्का, छानबिनको माग

इटहरी उमनपा–१७ का ४६ वर्षीय सञ्जु शेर्पाको मृत्यु पश्चात क्षेत्रीय कारागार झुम्काले शवको पोष्टमार्टम नगरी परिवारलाई बुझाएको घटनाप्रति पीडित पक्षले पत्रकार सम्मेलन गरी घटनाको निश्पक्ष छानबिनको माग गरेको छ ।

उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार २९ गते मृत्यु भएका शेर्पाको शरीरमा घाउचोट तथा निलडाम भएकाले उनको ‘मृत्यु’ रहस्यमय भएको पीडित पक्षको आरोप छ ।

लागू औषध मुद्दामा असार २४ गते कारागार चलान भएका शेर्पालाई कारागार व्यवस्थापन विभागले बिरामी भन्दै उपचारका लागि असार २९ गते प्रतिष्ठान पुर्‍याएको थियो ।

मृत्यु पश्चात कारागार व्यवस्थापन विभागले पोष्टमार्टम नगरी शव बुझाएको मृतककी पत्नी लीलामाया राई शेर्पाले पत्रकार सम्मेलनमा बताइन् ।

उनले मृतकको हात र घाँटीमा घाउचोट तथा ढाड भरी निलडाम र काटिएको रगतसँगै चोट देखिएकाले ‘मृत्यु’ रहस्मय भएको दावी गरिन् ।

शेर्पाको मृत्युपछि पोष्टमार्टम गर्न कारागार विभागले अस्पताललाई अुनमति नदिएको मृतकका साला किरण राईले बताए ।

कारागार व्यवस्थापन विभागले शेर्पाको मृत्यु मादक पदार्थ सेवन गरी भएको जनाएको छ । शवको अन्त्येष्टी असार ३० गते नै गरिएको पीडित परिवारले जनाएको छ ।

पीडित पक्षले साउन २ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती समक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

अन्य

भिडियो