इटहरी उमनपा–१७ का ४६ वर्षीय सञ्जु शेर्पाको मृत्यु पश्चात क्षेत्रीय कारागार झुम्काले शवको पोष्टमार्टम नगरी परिवारलाई बुझाएको घटनाप्रति पीडित पक्षले पत्रकार सम्मेलन गरी घटनाको निश्पक्ष छानबिनको माग गरेको छ ।
उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार २९ गते मृत्यु भएका शेर्पाको शरीरमा घाउचोट तथा निलडाम भएकाले उनको ‘मृत्यु’ रहस्यमय भएको पीडित पक्षको आरोप छ ।
लागू औषध मुद्दामा असार २४ गते कारागार चलान भएका शेर्पालाई कारागार व्यवस्थापन विभागले बिरामी भन्दै उपचारका लागि असार २९ गते प्रतिष्ठान पुर्याएको थियो ।
मृत्यु पश्चात कारागार व्यवस्थापन विभागले पोष्टमार्टम नगरी शव बुझाएको मृतककी पत्नी लीलामाया राई शेर्पाले पत्रकार सम्मेलनमा बताइन् ।
उनले मृतकको हात र घाँटीमा घाउचोट तथा ढाड भरी निलडाम र काटिएको रगतसँगै चोट देखिएकाले ‘मृत्यु’ रहस्मय भएको दावी गरिन् ।
शेर्पाको मृत्युपछि पोष्टमार्टम गर्न कारागार विभागले अस्पताललाई अुनमति नदिएको मृतकका साला किरण राईले बताए ।
कारागार व्यवस्थापन विभागले शेर्पाको मृत्यु मादक पदार्थ सेवन गरी भएको जनाएको छ । शवको अन्त्येष्टी असार ३० गते नै गरिएको पीडित परिवारले जनाएको छ ।
पीडित पक्षले साउन २ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती समक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।