INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा ६ महिनायता औषधि अभाव

जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिका कार्यालयले आवश्यक औषधि नपठाउँदा खाँदबारी नपा-३ पाम्मास्थित स्वास्थ्य चौकीमा ६ महिनायता औषधिको अभाव देखिएको छ ।

स्वास्थ्य चौकीबाट निशुल्क रूपमा वितरण हुने ३९ प्रकारका औषधिमध्ये स्वास्थ्य संस्थाले ६ महिनायता औषधि अभावका कारण १० प्रकारका औषधिमात्र सेवाग्राहीलाई दिँदै आएको छ ।

निशुल्क वितरण हुने औषधिको अभावसँगै सो स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा लिन पुग्ने सेवाग्राहीहरू मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीमा चेवा, सेकाहा, मानेभञ्याङ्ग र पाम्मालगायतका क्षेत्रबाट दैनिक रूपमा २५ देखि ३० जना सेवाग्राही पुग्ने गरेका छन् ।

स्वास्थ्य चौकीमा सिप्रो, पेट दुखेको बेला खाने औषधि वुसकोवान, बान्ता रोक्ने औषधि मेटोक्लोरोप्रामाइड, एभिल सिरिञ्ज, डाइजिन ट्याब्लेट, भिटामिन बि कम्लेक्स, कालामाइन लोशनलगायतका औषधि अभाव भएको स्वास्थ्य चौकी इञ्जार्च सञ्जिता श्रेष्ठले बताइन् ।

श्रेष्ठका अनुसार स्वास्थ्य चौकीमा घाउचोटका लागि प्राथमिक उपचारका क्रममा प्रयोग हुने ब्यान्डेजसमेत अभाव छ ।

बारीमा काम गर्ने क्रममा हात काटेर ड्रेसिङ्गका लागि स्वास्थ्य चौकी पुग्दा ब्यान्डेज समेत डक्टरहरूले निजी औषधि पसलबाट किन्न लगाएको खाँदबारी-३ भञ्याङ्गकी ५७ वर्षीया बिमला घिमिरेले बताइन् ।

पेट दुखेर स्वास्थ्य चौकी पुग्दा डक्टरहरूले औषधि अभाव छ, भन्दै जिल्ला अस्पतालमा पठाएको खाँदबारी नपा-४ पाम्माका ५५ वर्षीय देवराज ओझाले गुनासो गरे ।

खाँदबारी नपा-३ का वडाअध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष देवराज घिमिरेले स्वास्थ्य चौकीलाई सधैँ आवश्यक पर्ने र जिल्लाबाट नआउने औषधिको सूची बनाएर किन्नका लागि वडा कार्यालयले पनि पहल गर्ने बताए ।

अन्य

भिडियो