कटहरीया नपा-९ का १२ वर्षीय युवराज साहलाई अपहरणपछि गोली प्रहार गरी हत्या गरेको अवस्थामा ०७५ जेठ २८ गते प्रहरीले शव फेला पारेको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा ०७५ जेठ २६ गते राति अपहरणमा परेका बालकको शव गढीमाई नपा-५ स्थित वलुवा मदनपुर टोल निजक रहेको बागमती नदीको तटबन्धमा फेला परेको प्रहरीले जनाएको छ ।
राति घरमा परिवारसँग सुतिरहेका बालकलाई अज्ञात समूहले अपहरण गरेपछि खोजी गर्द जेठ २७ गते राति पीडितकै छिमेकी कटहरीया नपा-९ का रामवालक यादवले बालकका बाबु ओमप्रकाश जयसवालको मोवाइलमा फोन गरी आफ्ना भतिजाहरूले बालकको अपहरण गरेको र फिर्ता गराउने बताएपछि बालक अपहरणमा छिमेकीकै संलग्नता रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
अपहरणकारीहरूले बालकको बावुलाई फोन गरी १ करोड रुपियाँ फिरौती रकम समेत माग गरेका थिए । प्रहरीले बालक अपहरणको आरोपमा कटहरीया नपा-९ का वडा अध्यक्ष रामाज्ञा राय यादव, उनका छोरा शक्ति राय यादव, सोही टोलका प्रविण यादव, सुनिल यादव र वृन्दावन नपा-९ आकर पाथर टोलका रविकुमार पटेल र विनोद पटेललाई जेठ २८ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार भएकाहरूको प्रारम्भिक बयानबाट बालक अपहरण र हत्यामा उनीहरूको संलग्नता रहेको खुल्न आएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर चतुर्भुज ओझाले बताए ।