INSEC Online

📅 २०८३ जेष्ठ २१

बराहापोखरी र ऐसेलुखर्कमा इञ्जिनियर नजाँदा भूकम्प पीडित मारमा

भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इञ्जिनियर पुगेका छैनन् ।

जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा अहिलेसम्म इञ्जिनियर नपुगेका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई महिनाअघि इञ्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर आउन नमानेको गाउँपालिका प्रमुखहरूको भनाई छ ।

‘इञ्जिनियर नआएपछि भूकम्पपीडितसँगै हामी पनि अन्यौलमा परेका छौं ।’-ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भने-‘इञ्जिनियरको लापरवाहीप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।’

प्राधिकरणले पठाएका इञ्जिनियर आएर प्रमाणीकरण गरेका अन्य स्थानीय तहका लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझ्न सुरु गरेका छन् ।

पहिलो किस्ता बुझेका जिल्लाका ८ हजार १ सय ७३ लाभग्राहीमध्ये अहिलेसम्म ७९ लाभग्राहीले दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपियाँका दरले अनुदान बुझेका हुन् । पहिलो किस्ता बुझेका भूकम्पपीडितले उक्त रकम बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएका जनाइएको छ ।

प्राधिकरणले बेलामा दोस्रो किस्ता नपठाएपछि कतिपय भूकम्पपीडितले आफ्नै खर्चमा घर बनाइरहेका छन् । ८ हजार ४ सय ४३ लाभग्राही रहेको खोटाङका कतिपयले डिपिसी गरेर दोस्रो किस्ताको प्रतीक्षा गरिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिकासहित १० स्थानीय तह रहेको जिल्लामा पहिलो किस्ता बुझेर पनि घर निर्माण शुरु नगर्ने पनि छन् ।

भूकम्पपीडितले पहिलो किस्ता लिएर घर ठड्याउन थाले पनि दोस्रो किस्ता नपाउँदा निर्माणाधीन अधिकांश आवास बीचमै अलपत्र परेका छन् ।

अधिकतम् भूकम्पपीडितले डिपिसीको काम पूरा गरिसके पनि दोस्रो किस्ता नपाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७, दोर्पाचिउरीडाँडाका वडा सचिव तेजनाथ ढकालले बताए ।

जिल्लाका २ सय ७० लाभग्राही भने अहिलेसम्म पनि पहिलो किस्ता बापतको रकम पाएका छैनन् । विदेशमा रहेका घरमूलीका नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेशिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकाल वा अपाङ्गताका कारण सदरमुकाममा रहेको बैङ्कसम्म आउन नसक्ने जस्ता समस्याका कारण कतिपय भूकम्पपीडितले हालसम्म आवास अनुदानको पहिलो किस्ता पाउन नसकेका हुन् ।

भूकम्पका कारण खोटाङमा १३ हजार ७ सय ९९ घरमा क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर डिपिसी पूरा गरेका जिल्लाका ७९ लाभग्राहीले बल्ल दोस्रो किस्ता रकम निकासा पाएका जिल्ला समन्वय समितिका आवास अनुदान सहजकर्ता रविकिरण आचार्यले बताए ।

घरको डिपिसी ढलान गरेको महिनौँपछि द्रिरुङ चुइचुम्मा गाउँपालिकाका ७४ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पाँच लाभग्राहीका नाममा दोस्रो किस्ता रकम जम्मा भएको सहजकर्ता आचार्यको भनाई छ ।

अन्य

भिडियो