विनाशकारी भूकम्पका कारण भत्केको नौकुण्ड गाउँपालिका-३ फाम्चेतस्थित श्री गौतमवुद्ध मावि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको छ । भूकम्पपछि तत्काल बनाइएको जस्तापाताका साना कोठा रहेको अस्थायी सिकाई केन्द्रमै विद्यालय सञ्चालन गर्दा पठनपाठनमा समस्या भएको हो ।

अस्थायी टहरामा भयरहित वातावरणमा कक्षा सञ्चालन गर्न नसकिएको शिक्षक लक्ष्मी लामिछाने बताउँछिन् ।
विद्यालय प्रशासनले समन्वय गर्न चासो नदिएकाले पुनर्निर्माण हुन नसकेको स्थानीयको आरोप छ । “भूकम्प गएको तीन वर्षबितिसक्दा पनि विद्यालय बनेन । त्यसको असर हाम्रा नानीबावुमा छ ।”-स्थानीय अभिभावक मिङमार तामाङले भने ।
संविधानले शिक्षा सर्वसुलभ पाउनु पर्ने नागरिकको अधिकार भएको उल्लेख गरेपनि व्यवहारमा भने यस्तो नरहेको स्थानीयको गुनासो छ । विद्यालयमा भवन अभाव मात्र हाइन खानेपानीको समेत समस्या छ ।

कूल २ सय ९० जना विद्यार्थी अध्ययन गरिरहेको यस विद्यालयमा अहिलसम्म पनि अस्थायी सिकाई केन्द्रमा रहेकाले विद्यार्थीहरूलाई अध्ययनमा समस्या भएको विद्यार्थी रत्न तामाङले बताए । अन्यत्रका विद्यालयहरूमा समन्वय गरेर भवन पुनर्निर्माण गरिसकिएको स्थानीयले बताए । यहाँ भने निकै ढिला भएकाले जस्ताको टहरामा पठनपाठन गराउँदा समस्या भएको स्थानीय गोसाई तामाङले बताए ।
विभिन्न दातृ निकायले विद्यालय भवन पुनर्निर्माण गरिदिने भने पनि हालसम्म काम हुन नसकेको विद्यालयका प्रधानाध्यापक निरञ्जन भुजेलले बताए ।