INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षद्वारा इञ्जिनियरमाथि कुटपिट गरेको आरोप

राष्ट्रिय गौरव आयोजनाको नक्साङ्कन परिर्वतन गर्न नमानेको आरोपमा चौदण्डी नगरपालिका-६ का वडाध्यक्ष कमलध्वज राईले इञ्जिनियरमाथि जेठ ९ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

राईले राष्ट्रिय गौरवको आयोजना धरानदेखि सिन्धुली हुँदै हेटौँडा जोड्ने सडक खण्डको नक्साङ्कन परिर्वतन गर्न नमान्दा इन्जिनियरद्वय सन्दिप विष्ट र किशोर केसीमाथि कुटपिट गरेका हुन् ।

निर्माणाधीन सडकले वडाध्यक्ष राईको घर छुने भएपछि त्यो नक्साङ्कन परिर्वतन गर्न राईले इञ्जिनियरलाई दबाव दिँदै आएका थिए ।

वडाध्यक्षको भनाई नमान्दा चौदण्डी नपा-६ सातधारेमा राईले आफूहरूलाई हातपात गरेको निर्माण कम्पनी लामा एण्ड शर्मा जेभिका इञ्जिनियर सन्दिप विष्टले बताए ।

घटनाको विरोधमा कम्पनीले असुरक्षाको कारण देखाउँदै निर्माण कार्य रोकेको छ । नक्साङ्कन परिवर्तनको विवादले चार महिनायता उक्त सडकखण्डमा निर्माणको काम रोकिएकोमा जेठ ८ गतेदेखि पुनः काम सुचारू भएको थियो । कुटपिटको घटनापछि निर्माणको काम रोकिएको निर्माण कम्पनीका उप प्रबन्धक सिताराम दाहालले बताए ।

१ सय ३४ किलोमिटर सडक निर्माण गर्न करिब ६ अर्बको ठेक्का पाएको लामा एण्ड शर्माले अहिलेसम्म पूर्वी खण्डमा ४० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

चार महिनायता बाटोको काम अवरूद्ध हुँदा निर्धारित समयमा काम सक्न ठेकेदार कम्पनीलाई समस्या भएको छ । निर्माण कम्पनीले भने चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौँडा सडकको पूर्वी खण्डमा एलाईमेन्ट (नक्साङ्कन) परिवर्तन गर्न प्राविधिक कठिनाई हुने जनाउँदै आएको छ ।

‘सहयोग गर्नुपर्ने जनप्रतिनिधिबाटै कर्मचारी कुटिएपछि काम गर्न असुरक्षा महसुस गरेका छौँ ।’-उप प्रबन्धक दाहालले भने । दाहालले असुरक्षाका बीच निर्माण कार्य सम्पन्न गर्न समस्या हुने बताए ।

काम गर्ने वातावरण बनेमा पुन काम सुचारु गरिने दहालले जानकारी दिए । घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले केही जानकारी नआएको बताएका छन् ।

अन्य

भिडियो