२५ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लिल भिडियो र तस्वीर पठाएर ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा दैलेख जिल्ला घरभई वीरेन्द्रनगर नपा-१० का २८ वर्षीय जीवन शाहीलाई प्रहरीले जेठ ५ गते वीरेन्द्रनगर बजारबाट गिरफ्तार गरेको छ ।
पीडितले आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जेठ ४ गते दिएको उजुरीको आधारमा शाहीलाई गिरफ्तार गरिएको डिएसपी श्यामसिं चौधरीले बताए ।
डिएसपी चौधरीका अनुसार पूर्व प्रेमी शाहीले आफूसँग रहेको अश्लिल भिडियो र तस्वीर ‘फेक’ फेसबुकमार्फत विदेशमा रहेका उनका पतिलाई पठाइदिएका थिए ।
पीडित महिलाबाट आरोपितले यसअघि यसरी नै १ लाख ८० हजार रुपियाँ लगेको र थप रकम माग गर्दा रकम नदिएपछि पतिलाई नै अश्लिल भिडियो र तस्वीर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी चौधरीले जानकारी दिए ।
शाहीलाई सार्वजनिक अपराध र विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।