प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत हिलिहाङ गाउँपालिका-६ स्थित भारापमा निर्माण गरिएको भवनमा जेठ ५ गते राति अज्ञात समूहले आगजानी गरेको छ ।
परियोजना अन्तर्गत सो स्थानमा ब्लक विकास समितिको भवन निर्माण गरिएको थियो । आगजानीबाट भवनमा भण्डारण गरेर राखिएका पाईप, विउ, मलका साथै समितिका सम्पूर्ण कागजातहरू नष्ट भएको हिलिहाङ गाउँपालिकाका प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बूले बताए ।
रातिको समयमा आगो लागेकाले नियन्त्रण गर्न नसकिएको ब्लक विकास समितिका सचिव रविन तिम्सिनाले बताए । गाउँपालिकासँग दमकल नभएको र फिदिम नगरपालिकाको दमकल ल्याइपुर्याउनु अगाडि नै भवन पूर्ण रूपमा जलेको उनले जानकारी दिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी परिचालन गरिएको र सो विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।