साँगुरीगढी गाउँपालिका-५ की ४५ वर्षीया गोपीमाया लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति कमलप्रसाद लिम्बूलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।
गाउँबाट मादक पदार्थ सेवन गरी घर आएका लिम्बूले घरायसी विवादको क्रममा गाईलाई खोले पकाउँदै गरेकी पत्नीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर आमोद खेरबारले बताए ।
गोपीमायाको घटनास्थलमा नै मृत्यु भएको थियो । त्यस्तै लिम्बूको खुकुरी प्रहारबाट छिमेकी ५५ वर्षीय खड्गप्रसाद लिम्बू घाइते भएका छन् । कमलप्रसादले पत्नीलाई खुकुरी प्रहार गरेपछि छुट्याउने क्रममा खड्गप्रसाद घाइते भएका हुन् ।
घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट उनको चिउँडो र गर्धनमा चोट लागेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकका दुई छोरा र दुई छोरी रहेका छन् ।