INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प

बाजुराका स्थानीय तहहरूमा पर्याप्त कार्मचारी नहुँदा दैनिक काम काजमा गर्नमा समस्या भएको स्थानीयहरूको गुनासो रहेको छ ।

चार नगरपालिका र पाँच गाउँपालिकामा गरी ६९ ओटा वडाहरू रहेका छन् । वडा सचिव तथा अन्य कर्मचारी नहुँदा स्थानीयहरूको काममा समस्या भएको हो ।

वडा सचिव नहुँदा जन्म, मृत्यू, विवाह दर्ता जस्ता काम हुन नसकेको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । ‘कर्मचारी अभाव बारे केन्द्र र प्रदेश सरकारलाई जानकारी छ । कर्मचारी समायोजनको प्रतिक्षामा छौँ । चाँडो नहुँदा समस्या भोगिरहेका छौँ ।’-शाहीले भने ।

गाउँपालिका भरी एकजना कर्मचारीलाई जिम्मा दिँदा वडाबाट पाउनु पर्ने सेवा सुविधा नपाएको बुढीगङ्गा नगरपालिका-७ का स्थानीय तपेश रावलले बताए । वडा सचिव नभएपछि जन्म दर्ता, मृत्यू दर्ता विवाह दर्ता, योजना अनुगमन काम र पञ्जिकरणसम्बन्धी कामहरूमा बाधा भएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए ।

बुढीगङ्गा नगरपालिकामा १० ओटा वडा छन् । तर, एक जना पनि सचिव छैनन् ।  प्राविधिकहरूलाई काम चलाउ बनाएर राखिएको मेयर दिपक विक्रम शाहले बताए । कर्मचारीको लागि केन्द्र र प्रदेश सरकारलाई कुरा गर्दा कर्मचारी समायोजन हुने कुरा बताएको र आफू त्यसैको प्रतिक्षामा रहेको नगर प्रमुख शाहले बताए ।

हाल बुढीगङ्गा नगरपालिकाका ७, ८, ९ र १० वडा कार्यलयहरू सयुंक्त रूपमा साविकको बाह्रबिस गाविसको भवनमा सञ्चालित छ ।

कर्मचारी नभएकाले सिफारिसको लागि वडा अध्यक्ष खोज्न गाउँ जानु पर्ने बाध्यता रहेको ९ नम्वर वडाका स्थानीय डम्वर सिंहले गुनासो गरे ।

खप्ताड छेडेदह गाउँपालिकाका सात वडाहरूमा दुई जना सुब्बाले काम गरिरहेका छन् । कर्मचारी अभावले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा भइसकेको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावलले बताए ।

अन्य

भिडियो