देवघाट गाउँपालिका-५ का सुत्केरी महिलालाई घर नजिकै रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ । स्वास्थ्य चौकी र सुत्केरी गराउने दुई जना स्वास्थकर्मी भए पनि बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको स्थानीय महिला स्वयम्सेविका अम्बिका न्यौपानेले बताइन् ।
करिब ३ हजार जनसङ्ख्या रहेको देवघाट गाउँपालिका-५ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन महिलालाई चितवन जिल्लाको भरतपुर अस्पताल र सोही ठाउँका अन्य अस्पतालमा लैजानु पर्ने बाध्यता रहेको छ । चितवनबाट तनहुँको देवघाटसम्म पुग्नको लागि त्रिशुली नदिमा झोलुङ्गे पुल मात्र रहेको हुँदा सुत्केरीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको उनले सुनाइन् । कतिपय अवस्थामा सुत्केरीलाई बोकाएर सडकसम्म लैजाँदै गर्दा बाटोमा नै गर्भवती हुने गरेको न्यौपानेले बताइन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले देवघाट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न देवघाट स्वास्थ चौकी मातहत दुई जना स्वास्थ्यकर्मीको व्यवस्था गरेपनि पक्की भवन नहुँदा सो सेन्टर सञ्चालन गर्न नसकिएको देवघाट स्वास्थ्य चौकीका अहेव नागेन्द्र ठाकुरले बताए । नीतिगत रूपमा निर्णय भए पनि भौतिक सुविधा नभएका कारण बर्थिङ सेन्टर सञ्चालन नभएको उनले बताए । गाउँपालिकालाई पनि यस बारेमा आफुहरूले जानकारी गराइसकेको उनले बताए ।
देवघाट स्वास्थ्य चौकीमा प्रत्येक महिना नयाँ तीन जना सहित कम्तीमा २० जना महिलाले नियमित गर्भ परीक्षण गर्ने गरेको जानकारी दिँदै उनले ती सबै महिला सुत्केरी गराउनको लागि भने चितवनको भरतपुर जानु पर्ने बाध्यतामा रहेको बताए । देवघाट गाउँपालिका-५ का अध्यक्ष यालबहादुर गुरुङले बर्थिङ सेन्टर नभएको बारेमा आफूलाई हालै मात्र जानकारी भएको प्रतिक्रिया दिँदै चाँडै नै सेन्टर सञ्चालन गरी सेवा दिइने बताए ।
हाललाई घर भाडामा लिएर भएपनि बर्थिङ सेन्टर सञ्चालन गरिने उनले बताए । गाउँसभाले हालै मात्र स्वास्थ्य नीति पारित गरेको र स्वास्थ्यको अधिकार मौलिक हक रहेको बताउँदै अब गाउँपालिकाका कुनै पनि नागरिक आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने अध्यक्ष गुरुङको भनाई छ ।