चिकित्सकको लापरबाहीबाट सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला अस्पतालमा तालाबन्दी गरी गरेको आन्दोलनका कारण वैशाख १९ गते जिल्ला अस्पतालको आपतकालीन सेवाबाहेक सम्पूर्ण सेवा प्रभावित भएको छ ।
अस्पतालबाट उपलब्ध हुने ओपिडी, एक्सरे र ल्याव परीक्षण सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।
अस्पतालमा उपचार गराउन आएका बिरामी कमल खड्काले भने-‘क्षयरोगको सुई लगाउन आएको त अस्पतालमा कोही रहेनछन् । अस्पतालमा निशुल्क पाउने सेवा मेडिकलमा गएर लिनुपर्यो ।’
आन्दोलनकारीले यातायातका साधनसमेत सञ्चालन हुन दिएका छैनन् । यातयातका साधन सञ्चालन नहुँदा सेवाग्राही थप समस्यामा परेका छन् । अस्पतालको सेवा प्रभावित भएपछि केही बिरामी उपचारका लागि एम्बुलेन्समार्फत बुटवल र दाङ गएका छन् भने केही बिरामीले निजी मेडिकलमा उपचार गराउनु परेको स्थानीयबासी महेन्द्र श्रेष्ठले गुनासो गरे ।
प्यूठान नपा-२ दाखाक्वाडीकी २३ वर्षीया सुत्केरी महिला राधिका धामीको वैशाख १८ गते शल्यक्रियापछि सोही दिन साँझ करिब ६ बजे मृत्यु भएको स्थानीयबासी मुक्ति पोखरेलले बताएका छन् ।
अस्पतालको लापरबाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउँदै पीडित परिवारले वैशाख १९ गते बिहानदेखि जिल्ला अस्पतालअघि नाराबाजीसहित धर्ना दिएका छन् ।
साथै आन्दोलनकारीले यातायात सेवासमेत ठप्प पारेका छन् । आन्दोलनका कारण जिल्लामा लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
पीडित पक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीबिच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डक्टर सुशील आचार्यले जानकारी दिए ।