INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको लाठीचार्जबाट पाँच जना व्यापारी घाइते

उद्योग वाणिज्य सङ्घ सुर्खेतले एकलौटी रूपमा संघको विधान संशोधन गरेको विरोधमा उत्रेका व्यापारीहरूमाथि वैशाख १५ गते प्रहरीले लाठीचार्ज गर्दा पाँच जना घाइते भएका छन् ।

लाठी प्रहारबाट व्यापारीहरू ४० वर्षीया चन्द्रा धामी, ३५ वर्षीया बालकुमारी थापा, ४६ वर्षीय डम्मर तिवारी, ४० वर्षीय केदार शर्मा र उद्योग बाणिज्य सङ्घ सुर्खेतका पुर्व अध्यक्ष ५० वर्षीय विष्णु शाही घाइते भएका हुन् ।

शान्तिपुर्ण रूपमा विरोधमा उत्रेको र्‍यालीलाई बिच सडकमा रोकी प्रहरीले जथाभावी लाठीचार्ज गरेको च्याम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणी शर्माले बताए । र्‍यालीपछि उद्योग वाणिज्य सङ्घको प्राङ्खणमा कोणसभा गर्ने कार्यक्रम रहेको थियो ।

घाइते धामी र थापाको उपचार देउती नर्सिङ्ख होममा भइरहेको र अन्य तीनजना उपचारपछि घर फर्किसकेको अध्यक्ष शर्माले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले विगत एक महिनादेखि उद्योग वाणिज्य सङ्घमा देखिएको विवाद चरम बन्दै गएकाले यसलाई रोक्ने क्रममा सामान्य धरपक्कड भएको तर लाठीचार्ज नगरिएको बताए ।

नेपाली काङ्ग्रेस समर्थक व्यापारीहरूको वर्चस्व रहेको उद्योग वाणिज्य सङ्घ सुर्खेतले एकलौटी रूपमा विधान संशोधन गरेको विरोधमा अन्य व्यापारीहरूले एक महिनाअघि उद्योग वाणिज्य सङ्घमा तालाबन्दी गरेपछि प्रहरीको सहयोगमा तालाबन्दी खोल्ने र तालाबन्दी गर्ने प्रक्रिया नियमित रूपमा चलिरहेको थियो ।

अन्य

भिडियो