स्थानीय सरकार बनेको नौ महिना बितिसक्दा पनि विकास निर्माणका काम र योजना भने कछुवाको गतिमा सीमित रहेको स्थानीयले आरोप लगाएका छन् ।
जिल्लाका कतिपय गाउँपालिकामा अहिले कर्मचारी अभावका कारण योजना तथा कार्यक्रमहरू अगाडि बढ्न सकेका छैनन् ।
कर्मचारी समायोजन प्रक्रिया खुकुलो बनेका कारण दरबन्दी अनुसार कर्मचारी नपुग्नुमा मन्त्रालय, प्रशासनको कमजोरीका कारण स्थानीय सकारले काम गर्न नसकेको जनप्रतिनिधिहरूको भनाई छ ।
साल्पासिलिछो गाउँपालिका विकास निर्माणको हिसाबले सबैभन्दा पछाडि रहेको गाउँपालिकामा एकजना पनि कर्मचारी नहुँदा समस्या भएको छ ।
‘कर्मचारी नहुँदा गाउँपालिकाको कामै ठप्प जस्तो भएको छ । विकासका पूर्वाधारको खुड्किलो बनाईरहेको गाउँपालिकाको कार्यपालिकामै कर्मचारी नहुँदा दैनिक कार्यसम्पादनमा समस्या देखिएको छ । गाउँपालिकाका कार्यकारी अधिकृत अशोक विष्ट र लेखापाल राम दाहालले थाहा नै नदिई बाहिरबाहिरै सरूवा गरेपछि गाउँपालिकाको काम प्रभावित भएको छ ।’-गाउँपालिका अध्यक्ष महेश राईले बताए ।
‘कार्यकारी अधिकृतले हामीसँग कुनै जानकारी नै नलिई बाहिरै सरूवा मिलाएर जानुभएछ । त्यसपछि लेखापालको पनि सरूवा भयो ।’-अध्यक्ष राईले भने-‘जनताको प्रतिनिधि भएर मात्र के गर्नु कार्यालयमा कर्मचारी नहुँदा काम धान्नै गाह्रो भएको छ ।’
कार्यालयको प्रशासन हेर्ने कर्मचारी आउने क्रममा रहेको र लेखा, प्रशासन हेर्न काम चलाउका लागि करारमा नियुक्ति गरिएका प्राविधिकलाई त्यहाँ प्रतिस्थापन गरिएको उनले बताए ।
गाउँपालिकाको कृषि, पशु र स्वास्थ्य बाहेक अन्य विषयगत शाखाहरूमा कर्मचारी शुन्य छ । करिब डेढ महिनाअघि मात्रै कृषि शाखा हेर्ने कर्मचारी पनि सरूवा भएपछि अहिले दुईवटा शाखामात्र सञ्चालनमा छन् । ६ वटा वडा रहेको गाउँपालिकामा हाल तीनवटा वडा सचिवविहिन अवस्थामा छन् । बाँकी तीनवटा वडाका वडासचिवले अन्य वडाको दोहोरो कार्यभार उठाइरहेका छन् । कर्मचारी अभावका कारण गाउँपालिकाको योजनाका कामहरू अलपत्र नै देखिन्छ ।
यस्तै आमचोक गाउँपालिकामा कार्यपालिकादेखि वडासम्ममा केही कर्मचारीका पद रिक्त हुँदा दैनिक कार्यसम्पादन प्रभावित भएको छ । अहिले कार्यकारी अधिकृत र सह-लेखापालको भरमा कार्यपालिकाको दोहोरो कार्यभार थेग्नु परेको अवस्था छ । प्रशासन हेर्ने नासु, इञ्जिनियर, प्राविधिकलगायत १७ र वडासचिव गरी ३७ जना कर्मचारी नहुँदा काम गर्न अति नै समस्या भएको कार्यकारी अधिकृत यमबहादुर उपरकोटीले बताए ।
विषयगत शाखाहरूमा एकजना पनि कर्मचारी छैनन् भने १० वटा वडा रहेको गाउँपालिकाको आठवटा वडाहरू सचिवविहीन छन् । ती वडामध्ये सातवटा वडामा स्वास्थ्य चौकीका अहेब र एउटा वडामा खानेपानीको प्राविधिकलाई सचिव सिफारिस गर्ने गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइसकेको उनले बताए । पटकपटक जिल्ला प्राविधिक कार्यालयसँग कर्मचारी माग गरेपनि कर्मचारी दिन नसकेको उनी सुनाउँछन् । उनले इञ्जिनियर नहुँदा अहिले करिब ७० लाख बराबरको चारवटा ठुला भौतिक योजनाहरू रोकिएको बताए ।
कार्यपालिकामा प्रशासनबाहेक सबै कर्मचारीको पदपूर्ति भएको अरूण गाउँपालिकामा चारवटा वडाहरूमा सचिव छैनन् भने वडा नं २ का सचिवलाई प्रशासनमा ल्याइएको छ । गाउँपालिकाको महिला तथा बालबालिका र भू-संरक्षणबाहेक सबै विषयगत कार्यालयहरूमा कर्मचारी समायोजन भइसकेको छ ।
करिब डेढमहिनाअघि चारवटा वडा सचिवविहीन रहेको पौवादुङ्मा गाउँपालिकामा ०७४ चैत १ गते नियुक्ति पाएका सचिवहरूलाई खाली वडा तानिएको छ भने कार्यपालिकामा सबै कर्मचारी पूर्ति भएको देखिन्छ ।
गाउँपालिकाको विषयगत शाखामा कृषि र पशुमा कर्मचारी अभाव देखिन्छ । यस्तै टेम्केमैयुङ गाउँपालिकाका चारवटा वडाहरू सचिवविहीन छन् । विभिन्न बहानामा सरूवा मिलाएर अन्त जाने प्रवृत्तिले कर्मचारी कोटा खाली भएको गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए । उनले गाउँपालिकाका विषयगत शाखाहरू कर्मचारीविहीन हुँदा योजनाका कामहरूमा अन्योलता सिर्जना भएको सुनाए ।
नौवटा वडा रहेको हतुवागढी गाउँपालिकामा अहिले तीनवटा वडामा मात्र सचिव छन् । कार्यपालिकामा सबैजसो कर्मचारी समायोजना भएपनि विषयगत शाखातर्फकृषि, शिक्षा, महिला तथा बालबालिका, पशु र स्वास्थ्यबाहेक अन्य कार्यालयमा कर्मचारी छैनन् । कार्यकारी अधिकृत रामकुमार पुडासैनीका अनुसार ती कार्यालयका लागि प्रशासन र मन्त्रालयसँग कर्मचारी माग गर्दा आवश्यक कर्मचारी दरबन्दी अनुसारका कर्मचारी पठाउन सकेको थिएन ।
यस्तै रामप्रसाद राई गाउँपालिकाको पनि प्रशासन, आर्थिक कारोबार हेर्न काम चलाउ लेखापालकै भरमा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ । कार्यालयको काम गर्न गाह्रो भएपछि त्यसलगत्तै कार्यालयले महिला र भूःसंरक्षण कार्यालय हेरिरहेका मनोजकुमार शर्मालाई लेखापाल नियुक्ति गरेको थियो ।
अन्य शाखा हेर्न गाउँपालिकाले जिल्ला प्राविधिक कार्यालयमा कर्मचारी नियुक्तिको सिफारिस माग गरेपनि विभिन्न प्राविधिक समस्याले कर्मचारी दिन नसकेको कार्यकारी अधिकृत विक्रम लिम्बुले बताए । गाउँपालिकाको विषयगत कार्यालयमध्ये अहिलेसम्म शिक्षा शाखाको मात्रै टुङ्गो लागेको छैन ।
षडानन्द नगरपालिकामा भने एकजना वडा सचिवको काँधमा दोहोरो कार्यभार थपिएको छ । कार्यपालिकामा सबैजसो कर्मचारी पुरा भएपनि सबैभन्दा बढी वडा रहेको नगरपालिकामा एकजना वडासचिवलाई दुई/दुई वडाको काम धान्नुपर्ने सास्ती छ । नगरपालिकाको वडा नं २ र ३ मा एक, वडा नं ४ र ५ मा एक, वडा नं ६ र ७ मा एक, वडा नं १० र १२ मा एक र वडा नं १३ र १४ मा एक जना वडा सचिवको भरमा कामलचलाइएको छ । विषयगततर्फ पशु र महिला तथा बालबालिका कार्यालय कर्मचारीविहिन छन् । कर्मचारी पदपूर्तिका लागि माग गरिएको र आउने तयारीमा रहेको उपमेयर मेरिका राईले जानकारी दिइन् ।
भोजपुर सदरमुकाम रहेको भोजपुर नगरपालिकाको कार्यपालिका र सबै विषयगत कार्यालयहरूमा कर्मचारी पूर्ति भएको देखिन्छ । यद्यपी केही वडा सचिवविहीन भएपनि सचिवविहीन वडाको काममा एउटा सचिवले दुःखसुख धानिरहेको मेयर कैलाश कुमार आलेले बताए ।
अहिलेसम्म नौवटै स्थानिय तहमा भौतिक योजनातर्फ सडक स्तरोन्नती काममा तीव्रता आएको देखिन्छ । सबैभन्दा बढी षडानन्द नगरपालिकाको पूँजीगत र चालू गरी करिब ९ करोड रुपियाँको भुक्तानीमा ४० प्रतिशत काम भएको छ र सबैभन्दा थोरै पौवादुङ्मा गाउँपालिकाको करिब ७ लाख रुपियाँ बराबर भुक्तानीको मात्र काम सम्पन्न भएको छ । गाउँसभा ढिला भएका कारण योजनाका काममा ढिलाई भएको पौवादुङ्मा गाउँपालिकाका कार्यकारी अधिकृत शालिकराम भट्टराईले बताए । सडकबाहेक अन्य योजनाहरू क्रमिक रूपमा अगाडि बढ्ने बताइएको छ ।