सबैला नपा-१ खरियानीका १८ वर्षीया अञ्जली दासलाई २२ वर्षीय पति दिपेन्द्र दासले हत्या गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख १० गते कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन उजुरी दिएको छ ।
गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि वैशाख ७ गते अञ्जलीको हत्या गरेको पीडित पक्षले बताए । गणेशमान चारनाथ नपा-१० डुमरीयाका शिवनाथ दासको छोरी अञ्जली दासको पतिले हत्या गरेको भन्दै परिवारजनले मुद्दा दर्ता गर्नको लागि एसपी चक्रबहादुर सिंहलाई उजुरी दिएको मृतकका सानोबुवा जिबछ दासले बताए ।
मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन् । अन्जली गर्भवती भएपछि उनका पतिले गर्भपरीक्षण गराएका थिए । गर्भपरीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपीट गर्ने र गाली गलौज गर्नेलगायतका तवरबाट शारीरिक र मानसिक यातना दिँदै आएको पीडित पक्षले जनाएको छ ।
एकमहिनाअघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा पतिले अत्याधिक कुटपिट गरेको पीडित पक्षले बताए । कुटपिटबाट आँखा सुन्निएको थियो भने मुखमा डाम देखिएको मृतकको दाजु प्रदिप दासले बताए । पतिबाट पीडित भएपछि एक महिनादेखि अञ्जली माइतीमै बस्दै आएको थियो ।
हत्या गर्ने योजनाअनुसार वैशाख ६ गते दिपेन्द्र ससुराली आएर पत्नीलाई घर लग्ने भन्दै वैशाख ७ गते बिहान ११ बजे अञ्जलीलाई पति दिपेन्द्रले लगेका थिए । सोही दिन बहिनीको हत्या भएको मृतकका दाजु प्रदिपले बताए ।
‘वैशाख ७ गते साँझ मेरो बुवालाई प्रहरी चौकी बरमझियाका प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गरायो ।’-प्रदिप दासले भने । अञ्जलीले पासो लगाएको भनिए पनि उनको शरीरभरी निलडाम देखिएको प्रदिपको भनाइ छ । ‘मेरी छोरीको आत्महत्या होइन । उनलाई मारिएको हो ।’-मृतकका बुवा शिवनाथले भने ।
जनकपुर अञ्चल अस्पतालमा वैशाख ८ गते शवको पोष्टमार्टम गराइएको छ । ‘घटनालाई ढाकछोप गर्न सक्दो प्रयास गरिएको पाइयो । सत्यतथ्य पत्ता लगाएर आरोपितलाई कारवाही गर्नुपर्छ ।’-महिला अधिकारकर्मी मुन्नी दासले भनिन् ।
यो घटनालाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले बताए ।
पीडित पक्षले दिएको उजुरी सम्बन्धित इलाका प्रहरी कार्यालय सबैला पठाइसकेको एसपी सिंहले बताए । मृतकका पति दिपेन्द्र भने घटना लगत्तै फरार रहेको प्रहरीले जनायो ।