INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । लागुऔषध ओसार पसारका आरोपमा गिरफ्‌तार गरिएका भारतको सिद्धार्थनगर रामनगर ग्राम पञ्चातका ४० वर्षीय विनोद कुमार निसादले मङ्सिर ३ गते बिहान प्रहरी हिरासतको शौचालयमा ओड्ने कम्बलको बोडर च्यातेर पासो लगाई आत्माहत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यका अनुसार गत कात्तिक १४ गते ८० ग्राम लागु औषध ब्राउनसुगर सहित कपिलवस्तुको पकडीबाट गिरफ्‌तार गरी लागु औषध ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।

प्रहरी कार्यालयको सिसिटीभी फुटेज अनुसार प्रहरी हिरासतमा रहेका मृतक निसाद मङ्सिर ३ गते बिहान ३ बजेर ४८ मिनेटमा शौचालय गएको देखिन्छ ।

शौचालयको झ्यालको जाली च्यातेर कम्मबलको छेउको भागलाई च्यातेर पासो लगाएर झुण्डिएको अवस्थामा उनीसँगै बसेका अर्का व्यक्ति शौचालय जाँदा देखेपछि घटनाका विषयमा प्रहरीलाई खबर भएको थियो ।

घटनापछि प्रहरीले स्थानीय जनप्रतिनिधि, मानव अधिकारकर्मी, पत्रकार र मृतकका आफन्तहरुलाई जानकारी गराएर सबैको रोहवरमा मुचुल्का गरी शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा पठाएको छ ।

मृतक निसाद भारतमा पनि विभिन्न मुद्दा खेपिरहेका फरार आरोपित रहेको एसपी आचार्यले बताउनुभयो । अहिले शव कपिलवस्तु अस्पताल तौलिहवामा राखिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो