वीरगन्ज महानगरपालिका वडा–४ बिर्तास्थित बालसुधार गृहमा ५० जना क्षमता भएपनि ८९ जना बालकैदी रहेका छन् ।
सुधार गृहमा बलात्कार मुद्धाका ३७ जना बालकहरु रहेका छन् । त्यसैगरी लागु औषध मुद्धाका १० जना, कर्तव्य ज्यान मुद्धाका नौ जना, सवारी ज्यान सम्बन्धी मुद्धाका सात, ज्यान सम्बन्धी कसुरका पाँच, सवारी अङ्गभङ्गका तीन, अपहरण शरीर बन्धक र चोरीका दुई/दुई जना छन् । अपहरण, शरीरबन्धक तथा बलात्कारपछि हत्या, अप्राकृतिक मैथुन, कुटपिट अङ्गभङ्ग, ज्यानमार्ने उद्योग, मानव बेचबिखन तथा ओसारपसार, चोरी, डाँका र हत्या प्रयास, हातहतियार, अपहरण तथा व्यक्ति बेपत्ता पार्ने कसुर र ज्यान सम्बन्धी कसुर, र लागु औषध र कर्तव्य ज्यानका एक/एक गरी ८९ जना बालकैदी तथा थुनुवाहरु रहेको बालसुधार गृह कार्यालयका प्रमुख टिकाकृष्ण काफ्लेले बताउनु भयो । बालकैदी र थुनुवाहरुको रेखदेख, स्वास्थ्य निगरानी लगायत व्यवस्थापन हेर्ने कार्यालय र सुरक्षाकर्मीको कार्यकक्ष समेत सगोलमा नै छ । पटक पटक बालसुधार गृह ब्यवस्थापनका लागि सम्बन्धित उपल्लो निकायमा अवगत गराइएको भएपनि समन्वय नभएको प्रमुख काफ्लेले बताउनु भयो ।