कानुनले बिहे २० वर्षपछि गर्नुपर्ने व्यवस्था गरेको भए पनि हिमाली जिल्ला हुम्लामा भने २० वर्ष नपुग्दै आमा बन्ने किशोरीहरुको संख्या बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा समेत बालविवाह विरुद्ध चर्को आवाज उठेपनि १५ देखि १९ वर्षको उमेरमा विवाह गर्ने प्रचलन नरोकिएका कारण उमेर नपुग्दै आमा बन्ने महिलाको संख्या बढ्दै गएको हो ।
चंखेली गाउँपालिका–६ को मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले स्वास्थ्य संस्थामा उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको संख्या बढेको बताउनु भयो ।
२० वर्ष मुनिका गर्भवती महिला हरेक दुई महिनामा एक जना सुत्केरी गराउनका लागि प्रसुती गृहमा ल्याउने गरिएको बताउँदै उहाँले पछिल्लो समय यो संख्या वृद्धि भएको बताउनु भयो ।
कानुनले बाल विवाहलाई बर्जित गरेको भए पनि व्यवहारमा अहिले पनि जस्ताको त्यस्तै अवस्था रहेको उहाँको भनाई छ । त्यस्तै ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले उमेर नपुगी विवाह गर्ने चलन नरोकिएका कारण कम उमेरमा गर्भवती हुने किशोरीको संख्यामा कमी नआएको बताउनु भयो । एक महिना अगाडी मात्रै १७ र १९ वर्षीया किशोरीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराएको संयोजक ढकालले जानकारी दिनुभयो ।
उहाँले आफ्नो गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा वर्षमा चारदेखि पाँच जना कम उमेरका महिलाहरूलाई सुत्केरी गराउने गरिएपनि अधिकांश किशोरीहरु घरमै सुत्केरी हुने गरेको बताउनु भयो ।
स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले वर्षमा १५ देखि २० जना गर्भवती जिल्ला अस्पतालको प्रसुती गृहमा सुत्केरी गराउन ल्याउने गरिएको बताउनु भयो । यो अस्पतालको संख्या भएको र जिल्लाभरको संख्या जोड्दा अवस्था गम्भीर देखिने बताउँदै उहाँले विद्यालयमा कक्षा नौं÷दश कक्षामा अध्ययन गर्ने छात्राहरू पनि बालविवाह गरेर सुत्केरी हुने गरेको बताउनु भयो ।
उहाँले यस्ता उमेरकी गर्भवतीलाई सुत्केरी गराउन कठिन हुने गरेको भन्दै बालविवाह विरुद्ध कानुनी प्रक्रिया अगाडी नबढाउँदा समस्या बढ्दै गएको बताउनु भयो ।
बालविवाह गरेको कुरा प्रहरीसम्म नआउँदा कानुनी कारबाही गर्न समस्या भएको इन्स्पेक्टर जंगबहादुर सिंहले बताउनु भयो ।
नन्द सिंह