१८ वर्षीया राउटे युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका १९ वर्षीय राजु रजालीलाई प्रहरीले ०८२ असोज २५ गते गिरफ्तार गरेको छ ।
बस्ती नजिक रहेको गाउँबाट बस्तीमा फर्कदै गरेकी युवतीलाई बस्ती नजिकैको खोलामा असोज २४ गते राति बलात्कार प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ । खोलाको नजिक बलात्कार प्रयास गरेपछि राउटे युवती भागेर बस्तीमा पुगेको बताउँछिन । बस्ती नजिकको खोलामा बलात्कारको प्रयास असफल भएपछि आरोपित रजाली पुनस् राउटे युवती सुतेको अवस्थामा घर भित्र पसेर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा असोज २६ गते उजुरी दिएको छ ।
राउटे युवतीलाई बस्तीमा पुगेर बलात्कारको प्रयास गरेपछि आरोपितलाई राउटे युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
जङ्गलमा बस्ने राउटे समुदायका युवतीमाथि यस अघि पनि यस्ता खालका घटना हुँदै आएको इन्सेकको अभिलेखमा रहेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको सुरक्षालाई मध्यनजर गर्दै राउटे बस्तीमा नियमित सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकारलाई यस अघि सुझाव दिएको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख रमेश कुमार थापाले जानकारी दिनुभयो ।
राउटे समुदायमा भइरहेका घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र मानव अधिकार रक्षक सञ्जालको टोलीले असोज २६ गते स्थलगत अनुगमन गरेको थियो ।
अनुगमन पश्चात इन्सेक र मानव अधिकार रक्षक सञ्जालको टोलीले जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधीरराज शाहीसँग भेट गरी राउटे बस्तीमा सुरक्षाको व्यवस्था मिलाउन र उक्त बस्तीमा अन्य समुदायका मानिसको सहज रुपमा जाने गर्दा राउटे समुदायको गोपनियता लगायत सुरक्षा चुनौती थपिएकाले यस विषयमा आवश्यक पहल गरिदिन अनुरोध गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते कर्णाली प्रदेश अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधीरराज शाहीले बताउनु भयो । आगामी दिनमा राउटे बस्तीमा सुरक्षाको व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालयका एसपी शाहीले आश्वासन दिनु भयो ।
एसपी शाहीले सुरक्षा सम्बन्धी कुनै समस्या आएमा आफूलाई फोन गर्न भन्दै राउटेसहित जिल्ला प्रहरी कार्यालयमा पुगेको टोलीलाई प्रहरी कार्यालयको नम्बर उपलब्ध गराउनु भयो ।
जङ्गल बस्दै आउने राउटे उक्त स्थानमा ०८२ असोज ७ गतेदेखि बस्दै आएका छन् । बस्तीमा ४० घरका १ सय ३६ जना राउटे बसोबास गदर्छन् । जसमध्ये ६४ जना पुरुष र ७२ जना महिला रहेका छन् । राउटे बस्तीमा चार जना सुत्केरी महिला रहेका छन् ।
दैलेख जिल्लाको गुराँस गाउँपालिकाले प्रति राउटेलाई मासिक चार हजार रुपियाँ बस्तीमा पुगेर त्रैमासिक रुपमा भक्ता उपलब्ध गराउदै आएको छ ।
कर्णाली प्रदेश कार्यालय