INSEC Online

📅 २०८३ जेष्ठ २१

विपद्का कारण गाउँ स्थानान्तरणको माग

हिमबाढी, पहिरो, ताल विस्फोट लगायतका विपद्का कारण नाम्खा गाउँपालिका–६ लिमी उपत्यकामा पर्ने तिलगाउँका स्थानीय बासिन्दाले गाउँ स्थानान्तरणको माग गरेका छन् । जलवायु परिवर्तनको असरसँगै हिमालमा बढेको तातोका कारण गत जेठ र असार दुई पटकको हिमबाढीले गाउँ तहसनहस पारेपछि उनीहरुले संघीय सरकारसँग गाउँ स्थानान्तरणको माग गरेका हुन् । हिउँ कम पर्न थालेपछि खिइँदै डाँडाबाट पहिरोले तिलगाउँका ३९ घरधुरीलाई सास्ती दिइरहेको छ । ०८२ जेठ १ गते गाउँभन्दा ५ हजार ४ सय मिटरमाथि रहेका दुई ओटा हिमताल चुहिँदा दायाँपट्टिको सानो खहरे खोला हुँदै गाउँमा ठुलो बाढी पसेको थियो । त्यसको एक महिनापछि बायाँपट्टिको अर्को खोलामा फेरि ठुलो हिमबाढी आएर दुई बाढीको बिचमा गाउँ परेको थियो ।

सरकारले जोखिम ठाउँका बास नसारिदिएपछि बस्ती स्थानान्तरणको माग राखिएको नाम्खा गाउँपालिका–६का वडा अध्यक्ष पाल्जोर तामाङले बताउनु भयो । ‘बाढी आएका बेला सरजमिन मुचुल्का सबै गरियो, बास कता सारिदिने हो भनेर पर्खिबसेको अहिलेसम्म सरकारले सारिदिएन,’उहाँले भन्नुभयो । कानुनी बाधा अड्चनका कारण स्थानीय सरकारले चाहेर पनि गाउँ स्थानान्तरण गर्न नसकिएको अध्यक्ष तामाङले बताउनु भयो । जनप्रतिनिधीसहित गाउँका स्थानीयहरूले ०८२ माघ १० गते प्रधानमन्त्री सुशीला कार्की समक्ष गाउँ स्थानान्तरणको माग राखिएको उहाँको भनाइ छ । उहाँका अनुसार १५ वर्षअघिसम्म माथि डाँडादेखि तल फेदसम्म बाक्लो हिउँ पर्थ्यो। हिउँपहिरो झर्थ्यो तर यति क्षति हुँदैनथ्यो । अहिले त हिउँ पग्लेर हिमतालमा झर्छ र ताल फुटेर गाउँमा बाढी पस्न थालेको छ । सन् २०११ ताका नजिकैको हल्जी र जाङ गाउँमा हिमताल फुटेर बाढी पसेको थियो ।

हुम्लाका गाउँमा पछिल्लो समय गर्मी बढ्दै गएकाले हिमाल छिटो छिटो पग्लन थालेको अनुभूति स्थानीयसँग छ । गाउँपालिका कार्यपालिका सदस्य पुटी लामाले गाउँका महिला, बालबालिकालाई थामेर राख्न समस्या परेको बताउनु भयो ।

उहाँका अनुसार गाउँले सबै मिलेर सर्ने ठाउँ पनि खोजिसकेका छन् । गाउँदेखि करिब ३२ किलोमिटर माथिको टाक्सी भन्ने ठाउँमा सर्ने मन गाउँलेले बनाएका छन् । विपद्का बेला विकटताकै कारण राहत नपाएको पीडा भोगेका गाउँलेले चीनसँगको सीमा नजिक रहेको टाक्सी गाउँमा बस्ने निधो गरेका छन् । उहाँले भन्नुभयो, ‘प्रहरीसमेत बस्न नसकेको ठाउँमा सीमा सुरक्षा गरेर बस्न तयार छौँ, मेसो मिलाइदिनुपर्‍यो भनेर प्रधानमन्त्रीलाई भनेका छौं ।’

जाङखोलाका बासिन्दा उहिले आफैँ सरेर धेरै जसो टाक्सी र आसपास पुगिसकेका छन् । टाक्सीको सीमापारि तिब्बत सरकारले बाटो, बत्ती तथा खाद्यान्नको सुविधा पुग्ने गरी विकास खोलेकाले पनि आपत पर्दा सजिलो हुने धारणा गाउँलेको छ ।

हिमबाढीपछि अनुगमनमा जानुभएका भूगर्भविद् डा. शिवकुमार बाँस्कोटाका अनुसार बहुपक्षीय विपद्को जोखिमले तिल गाउँ ढाकिएको छ । बाँस्कोटाले भन्नुभयो, ‘पहरोमा ढुङ्गाको पर्खाल लगाएर छेकिएको गाउँमा दुईतिरबाट बाढीले घेरेपछि गाउँमा बस्न सक्ने मानसिकता कमजोर भएको छ, यसपाला चुहिएको हिमताल अहिले टम्म भएर हिउँले ढाकिएको छ, वर्षामा तातिएर फेरि बाढी जान पनि सक्छ ।’

गाउँ सार्न सक्ने कार्यकारी अधिकार रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यो बेला गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेको छैन । प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठले बाढी दुईतिरबाट गएको र जीविकाका लागि आवश्यक बाटो, कुलो, सिँचाइ, खानेपानी र विद्युत गृह बगाएको प्रतिवेदनमा उल्लेख रहेको जानकारी दिनुभयो ।

नन्द सिंह

अन्य

भिडियो