INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोका कारण इलाममा ३७ जनाको मृत्यु, आठ जना घाइते, चार जना बेपत्ता

अत्यधिक वर्षापछि गएको पहिरोका कारण इलाममा ३७ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् । पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ०८२ असोज १७ गतेदेखि यताको वर्षाका कारण असोज १९ गते अपरान्हसम्म जिल्लाका विभिन्न क्षेत्रमा ३७ जनाको मृत्यु भएको हो । प्राकृतिक विपदको घटनामा आठ जना घाइते र दुई जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार पहिरोका कारण सूर्योदय नगरपालिका १ मानेभञ्याङ्गमा एक जना महिला र चार जना पुरुष गरी पाँच जनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका ६ घोसमा चार जना पुरुष र दुई जना महिला गरी ६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

सन्दकपुर गाउँपालिकामा तीन जना पुरुष र तीन जना महिला गरी ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

माङ्गसेबुङ्ग गाउँपालिकामा तीन जना महिलाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

देउमाइ नगरपालिका पाँच जना पुरुष र तीन जना महिला गरी आठ जनाको मृत्यु भएको छ ।

 माइजोगमाई गाउँपालिकामा तीन जना पुरुष र पाँच जना महिला गरी आठ जनाको मृत्यु भएको छ ।

काफफोक्थुम गाउँपालिकामा एक जना पुरुषको मृत्यु गरी जिल्लाभर प्राकृतिक विपदको घटनामा ३७ जनाको मृत्यु भएको छ । जिल्लामा पहिरोका कारण मृत्यु हुनेमा १७ जना पुरुष र २० जना महिला छन् ।

पहिरोमा परेर मृत्यु भएकामध्ये ११ जनाको असोज १९ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरी शव परिवारलाई जिम्मा लगाइएको छ ।

निरन्तर वर्षाका कारण झापामा ४ सय ५० घर परिवार डुवानमा परेका छन् । सुनसरी, उदयपुर र मोरङ्गका विभिन्न क्षेत्रमा बाढीका कारण सर्वसाधारण विस्थापित भएका छन् ।

इन्सेक कोशी प्रदेश  

अन्य

भिडियो