फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा एलकेजीमा पढ्ने चार वर्षीय बालकलाई लेख्न नजानेको आरोपमा विद्यालयमा कुटपिट भएको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित बालककी आमा सावित्रा नेम्वाङले वान, टु र क, ख लेख्न नजानेको भन्दै ०८३ वैशाख ३० गते छोरालाई शिक्षिका सुमित्रा नेम्वाङले कुटपिट गरेको बताउनु भयो ।
शिक्षिकाको कुटपिटबाट बिरामी भएका बालकलाई जेठ १ गते फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना गरिएपछि प्रहरीले अस्पतालबाटै घटना विवरण सङ्कलन गरेको छ ।
पीडित बालकलाई जरो आउनुका साथै खानामा रुची नदेखाएपछि सोध्दा मिसले कुटेको भनेपछि कपडा फुकाएर हेर्दा शरीरभरी निलडाम देखिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।
फिदिम नगरपालिका–१४ का वडाध्यक्ष राजकुमार नेम्वाङले घटनाका विषयमा बालकका बाबु र प्रहरीलाई फोनमार्फत सूचना दिएको बताउनु भयो ।
विद्यालय सञ्चालक संयोग सारु मगरले बालक कुटपिट गर्ने शिक्षिकालाई निलम्बन गर्नुका साथै उपचार खर्च स्कुल प्रशासनले व्यहोर्ने गरी अविभावकसँग कुराकानी गरेको बताउनु भयो ।