खाली समयको सदुपयोग गर्दै पाल्पा कारागारका पुरुष कैदी / बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिदै आएका छन् ।
कारागारका बन्दीहरुले त्यसै बिताउने फुर्सदको समयलाई आय आर्जनमा लगाउँदै आएको कारागारका बन्दी प्रेम कुमालले बताउनु भयो । कारागारमा रहेका पुरुष बन्दीहरुले बुनेका नाम्लो तथा दाम्लोहरु तानसेन बजारका साथै बुटवल, चितवन र काठमाण्डौका साथै विभिन्न मेला महोत्सवहरुमा बिक्री हुँदै आएको छ ।
कारागारमा १ सय भन्दा बढी बन्दीहरुले बिहानदेखि साँझसम्म दाम्लो र नाम्लो बाट्ने गरेको कुमालले बताउनुभयो । यसरी काम गरेर बन्दीहरुले मासिक रुपमा १० हजार रूपियाँसम्म फाइदा लिदै आएको उहाँले बताउनु भयो ।
कारागारकी जेलर भक्तिसरा रानाले पुरुष बन्दीहरुतर्फ आयआर्जनकालागि काम भएको तर महिला तर्फे हुन नसकेको बताउनु भयो । महिला बन्दीगृह तर्फ पनि अहिले विभिन्न सीप मुलक तालिमको माग रहेकाले सङ्घ संस्थाहरूसँग समन्वय गरी आय आर्जनका काममा प्रेरित गरिने उहाँले बताउनु भयो ।
हाल कारागारमा कैदी तोकिएका १ सय ७७, बन्दी ६४ पुरुष र ४९ र कैदी आठ जना बन्दी महिला रहेका छन् । कारागारमा आश्रित दुई जना बालक र एक बालिका रहेका छन् ।