आन्दोलनका क्रममा विभिन्न कारागार कार्यालयहरूमा तोडफोड र आगजनी गरेर भागेका दुई कैदीलाई प्रहरीले मङ्सिर २ र ३ गते रुपन्देहीका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीका अनुसार गिरफ्तार हुनेमा तिलोत्तमा नगरपालिका–३ घरभई जिल्ला कारागार नवलपरासीबाट भागेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी ५० वर्षीय रुद्र बहादुर पुन र जिल्ला कारागार तनहुँबाट लागूऔषध मुद्दाका भारतको जिल्ला महाराजगंज थाना नौतनवा बस्ने २० वर्षीय दिपक कुमार रहेका छन् । जसमध्ये पुनलाई मङ्सिर २ गते र दिपक कुमारलाई मङ्सिर ३ गते भैरहवाबाट गिरफ्तार गरिएको छ ।
फरार कैदीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र सो मातहतका कार्यालयहरुबाट नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा बुझाइएको डिएसपी कार्कीले बताउनु भयो ।