INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारबाट भागेका ५२ कैदीबन्दी काभ्रेबाट गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते देशका विभिन्न कारागारबाट भागेका ५२ जना कैदी बन्दीहरूलाई काभ्रे प्रहरीले ०८२ भदौ २९ गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका कैदीबन्दीहरु मध्ये बाल बिज्याईकर्ताहरूलाई बाल सुधार गृह भक्तपुर र अन्यलाई जिल्ला कारागार काभ्रेपलाञ्चोकमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहका अनुसार विभिन्न मितिमा १३ ओटा मुद्दा शीर्षकका ५२ जना कैदी, थुनुवा तथा बाल बिज्याईकर्ताहरूलाई गिरफ्तार गरिएको हो ।

गिरफ्तार गरिएका मध्ये केन्द्रीय कारागारबाट २४ जना, नख्खु कारागारबाट १८ जना, कारागार कार्यालय सिन्धुलीबाट तीन जना, झुम्का कारागार सुनसरीबाट दुई जना, डिल्लीबजार कारागारबाट एक जना, बाल सुधार गृह भक्तपुरबाट एक जना, नेपालगञ्ज बालसुधार गृहबाट एक जना, मानव वेचविखन अनुसन्धान व्यूरोको हिरासतबाट एक जना र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका एक जना गरी ५२ जनालाई गिरफ्तार गरिएको हो ।

उनीहरुमध्ये जबरजस्ती करणीका १४ जना, कर्तव्य ज्यानका १२ जना , लागू औषधका सात जना, चोरीका चार जना, सवारी ज्यानका तीन जना, मानव वेचविखनका तीन जना, अपहरण तथा शरीर बन्धक दुई जना, ठगी दुई जना, खोटा चलन एक जना, वन्यजन्तु चोरी पैठारी एक जना, सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणका एक जना, अध्यागमन ऐनविरुद्धको कसुर एक जना (विदेशी नागरिक), जबरजस्ती करणी उद्योगमा एक जना गरी ५२ जना रहेका छन् ।

त्यस्तै आन्दोलनको क्रममा विभिन्न कारागारमा रहेका काभ्रे ठेगाना भएका ९० जना कैदी भागेका छन् । जसमा भुम्लु गाउँपालिका घर भएका १४, चौरीदेउराली गाउँपालिकाका १२, रोशी गाउँपालिकाका १०, पाँचखाल नगरपालिकाका नौ, मण्डनदेउपुर नगरपालिकाका आठ, महाभारत गाउँपालिका सात, नमोबुद्ध नगरपालिकाका ६, खानीखोला गाउँपालिकाका ६, धुलिखेल नगरपालिकाका ६, पनौती नगरपालिकाका पाँच, बनेपा नगरपालिकाका चार, बेथानचोक गाउँपालिकाका र तेमाल गाउँपालिकाका दुई÷दुई जना कैदी फरार छन् ।

सुमित्रा आचार्य

अन्य

भिडियो