जेनजी आन्दोलनको क्रममा भदौ २४ र २५ गते दाङको तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
असोज २० र २१ गते जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई गिरफ्तार गरी तुलसीपुर कारागारमा बुझाइएको हो । प्रहरीले व्यक्ति हत्यामा १५ वर्ष कैद तोकिएका राप्ती गाउँपालिका–८ का बुद्धिराम चौधरी, बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका घोराही उमनपा–१३ का नारायण घर्तीमगर, बलात्कार मुद्दामा १८ वर्ष कैद तोकिएका गढवा गाउँपालिका–१ का सुनिल नेपाली, बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका घोराही उमनपा–५ का बसन्त सार्की, बलात्कार मुद्दामा ८ वर्ष कैद तोकिएका घोराही उमनपा–१७ का मनोज चौधरी र बलात्कार मुद्दामा १४ वर्ष कैद तोकिएका कालिमाटी गाउँपालिका–७ सल्यानका जीउपाल दमाईलाई गिरफ्तार गरी असोज २१ गते तुलसीपुर कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उनीहरु जेनजी आन्दोलनका क्रममा जेल तोडेर भदौ २४ र २५ गते भागेका थिए । उनीहरुलाई घरमै लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी कारागार पठाइएको डिएसपी शाहले बताउनुभयो ।
तुलसीपुर कारागार तोडेर भदौ २४ र २५ गते भागेका २ सय ५३ कैदी/बन्दी मध्ये १ सय ७१ जनालाई गिरफ्तार गरिएको छ भने अझै ८२ जना फरार रहेको तुलसीपुर कारागार कार्यालयले जनाएको छ । गिरफ्तार गरिएकामध्ये १७ जनालाई जिल्लाबाहिरबाटै गिरफ्तार गरी सोही जिल्लाका कारागारमा केही समयका लागि राखिएको कारागार कार्यालय तुलसीपुरका जेलर गिरबहादुर सेजुवालले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले तुलसीपुरबाट भागेका आठ जना कैलालीमा, तीन जना कपिलवस्तु, एक जना प्युठान, तीन जना रोल्पामा, बर्दियामा एक जना र सुर्खेतमा एक जना राखिएका छन् । स्थिति सहज भएपछिमात्रै उनीहरुलाई दाङ ल्याइने जेलर सेजुवालले जानकारी दिनुभयो ।
जयनारायण पुन